मोर्चाका नेताहरुसँग प्रधानमन्त्रीको अनौपचारिक छलफल

फागुन १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुसँग सोमबार साँझ बालुवाटारमा अनौपचारिक छलफल गर्नुभएको छ ।
सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको र सदनमा संविधान संशोधन प्रस्ताव प्रक्रियामा रहेको सन्दर्भमा प्रधानमन्त्रीले मोर्चाका नेताहरुसँग अनौपचारिक छलफल गर्नुभएको हो । बैठकमा स्थानीय तह पूनर्संरचनाको अन्तिम टुङ्गो, संविधान संशोधन प्रस्ताव र त्यसमा मधेशी मोर्चाको भूमिका तथा स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको थियो ।
छलफलमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्यवनमा नजाने हो भने संघीयता नै उल्टिनसक्ने खतराप्रति मोर्चाका नेताहरुको ध्यानाकर्षण गराउनु भएको थियो । संविधान संशोधन प्रस्तावलाई अन्तिम टुंगोमा लैजान मोर्चाका नेताहरुको सुझाव माग्दै प्रधानमन्त्रीले सरकार संशोधन प्रस्तावप्रति गम्भीर र प्रतिवद्ध रहेको जानकारी गराउनु भएको थियो ।
भेटमा मोर्चाका नेताहरुले संविधान संशोधन प्रक्रिया र स्थानीय तहको प्रतिवेदनबारे आफ्नो चासो राख्नुभएको थियो । अनौपचारिक छलफलमा प्रधानमन्त्री प्रचण्ड, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । बैठकमा मंगलबार माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाबीच संयुक्त बैठक बस्ने समझदारी भएको छ ।

कात्तिक ८, २०८१ बिहीबार १९:२०:२५