मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकार दत्तचित्त छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा लेखिएका मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र आमनागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सरकार दत्तचित्त भएर लागिपरेको बताउनुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्रालय पछिल्लाे एक सय दिनको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “संविधानमा लेख्ने कुरा त हामीले राम्रै लेखेका छौँ । जनताको सरदर आयु बढ्दै गएको छ । संविधानले परिकल्पना गरेजस्तो सुविधा पाए कि पाएनन् भन्ने कुरा महत्त्वपूर्ण छ । यस आधारमा सुविधा उपलब्ध गराउन सरकार लागिपरेको छ।”

प्रधानमन्त्री प्रचण्डले सरकार सुशासनको पक्षमा मात्रै नभई स्वास्थ्य, शिक्षा र अन्य सेवा प्रदान गर्ने क्षेत्रमा निरन्तर सकारात्मक प्रयास थालेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा विधेयकमा रहेको केही कमजोरी सच्याउने प्रक्रिया सुरु भएकोसमेत जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले जोश र उत्साहका साथ केही काम गरी छाड्ने सङ्कल्पका साथ काम कारबाही अगाडि बढाएकामा स्वास्थ्यमन्त्री बस्नेतको प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्रीले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले नर्सिङ सेवामा देखिएको चुनौती हाम्रा लागि अग्नि परीक्षासरह भएको बताउनुभयो ।

उहाँले सो सेवामा सुधार गर्ने सङ्कल्पसमेत आफूले लिएको र यसमा देखिने गरी नै काम गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री दाहालले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूताजस्ता विषयलाई संविधानको मौलिक अधिकारका रुपमा लेखिएको भए पनि जीवन व्यवहारमा सुविधा पाए कि पाएनन् भन्ने विषय महत्त्वपूर्ण रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सुर्तीजन्य पदार्थबाट आउने राजस्वलाई स्वास्थ्य क्षेत्रमा नै खर्च हुने वातावरण बनाउने बताउनुभयो । उहाँले आगामी दिनमा यस क्षेत्रमा थप बजेट उपलब्ध गराउने र अभाव हुन नदिने विश्वाससमेत दिलाउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १२:११:२९