-यापिड एक्सन प्लानमा कार्वाही गर्नुस्, ‘प्रधानमन्त्री’

श्रावण ३१ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालोबजारी, कृतिम अभाव र मूल्यवृद्धि गर्ने व्यापारीहरुलाई -यापिड एक्सन प्लानमा कार्वाही गर्न निर्देशन दिनुभएको छ ।
सोमबार प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति लगायतका मन्त्रालयहरुका सचिवहरुको संयुक्त बैठकको आयोजना गरी प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘महंगी, कालोबजारी र कृतिम अभावले उपभोक्ता आक्रान्त छन्, उनीहरुलाई देशमा सरकार छ भन्ने कुराको अनुभूति दिलाउनु हाम्रो कर्तव्य हो । तसर्थ, तपाईहरु कालोबजारी, कृतिम अभाव र महंगी गर्नेहरुविरुद्ध -यापिड एक्सन प्लानमा गएर कार्वाही गर्नुस् ।’
प्रधानमन्त्रीले युनिफाइड र सेन्ट्रल कमाण्डमार्फत् तत्काल परिणाम आउने गरी काम गर्न नेपाल सरकारका सचिव र सुरक्षा निकायका प्रमूखहरुलाई निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘एकीकृत कमाण्ड चाहिन्छ, यसबारे हामी छिटै निर्णय गर्छाै । तर, तत्काल भइरहेका संयन्त्रहरुको चुस्त परिचालन गरेर नजिता निकाल्नुस् ।’ प्रधानमन्त्रीले बजारमाथि बेथिति निम्त्याउनेहरु विरुद्ध त्रासको वातावरण सिर्जना गरी जनतालाई राहतको अनुभूति दिन पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘बेथिति निम्त्याउनेहरुलाई त्रासको स्थिति पैदा होस्, जनतालाई राहतको अनुभूति होस् । परिणाममूखी र नमुनायोग्य कामबाट सुरु गरौं, सिष्टम बसालौं, कार्यान्वयन गरौं । मिति नाघेका सामान जफत गरेर रत्नपार्क जलाऔं, जनतामा नयाँ सन्देश पैदा गरौं ।’
बैठकमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक बोहरा, विभिन्न मन्त्रालयका सचिवहरुले बजार अनुगमन प्रभावकारी बनाएर जनतालाई राहत दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार ७:२६:१६