युध्दलाई शान्तिमा रूपान्तरण गर्दा अन्तर्राष्ट्रियरुपमा नेपालको सम्मान बढेको छः अध्यक्ष प्रचण्ड

काठमाडौं  । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले युध्दलाई शान्तिमा रूपान्तरण गर्दा अन्तर्राष्ट्रियरुपमा नेपालको सम्मान बढेको बताउनु भएकाे छ । संघीय संसदको हिउँदे अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे, ‘हिजो जसरी युद्दको विकराल स्थ्तििलाई शान्तिको यस्तो राम्रो स्थितिमा ल्याउन पहलकदमी गर्यौं भने अहिले त हामी यति राम्रो परिस्थितिमा छौं । राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा नेपालको सम्मान बढेको छ । अब यो अवसरलाई विकास र समृद्दितर्फ यही एकताबद्ध भएर लैजानुपर्छ ।’

अध्यक्षले विकासको यात्रालाई पनि १२ बुँदे, ७ बुँदे हुँदै संविधानसम्मको एकताजस्तो अघि बढाउनुपर्ने बताउनुभयाे । ‘यसरी हातेमालो गरे मात्रै नेपालको, नेपाली जनताको भावनालाई सम्मान र सम्बोधन गर्न सक्छौं । यो बीचमा कैयन कमिकमजोरी भए । एकता सात महिना हुँदा पनि टुंगिएको छैन,’ अध्यक्षले भन्नुभयाे ।

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्म हातेमालो गरेर ऐतिहासिक उपलब्धि हासिल गर्न सकेको भन्दै अबका दिनमा पनि राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिनुभयाे । जनतामा निराशा छाउने अभिव्यक्ति नदिन समेत उहाँले सबैमा अपील गर्नुभयाे ।

अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘महिला हिंसा बढेकोमा, बलात्कारका घटनामा हामी निकै चिन्तित छौं । त्यसमा पनि कञ्चनपुरको निर्मला पन्तको बलात्कारको हत्याले सबैभन्दा बढी संवेदनशील बनायो । सरकारको कार्यक्षमता, अनुसन्धानको क्षमता र हैसियतमाथि प्रश्नचिन्ह खडा भएकै हो । हामीले पार्टी र सरकारसँग बस्दा यसको अनुसन्धान गम्भीर र दृढतापूर्वक हुनुपर्छ भनेर गएका छौं ।’

अध्यक्षले अगाडि भन्नुभयाे,  ‘मैले यो विषयमा गृह र प्रधानमन्त्री कार्यालयसँग बारम्बार छलफल गरेको छु । शुरुमा कतै न कतै कमी भएको महसुस गरेर गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्छ भनेपछि सरकार अहिले गम्भीर ढंगले लागेको पाएका छौं । अब यो घटनामा सत्यतथ्य ल्याउन प्रतिपक्ष, सत्तापक्ष सबैको दायित्व हो । निर्मला पन्तको घटनापछि पनि केही घटना देखिए । श्रृंखला नै हो कि भन्ने पनि देखियो । तर त्यसपछि सरकार र प्रहरी प्रशासनको तत्परता देखियो । तत्कालै अपराधी पक्राउ पर्ने अवस्था सिर्जना भयो । यो हिंसाको ग्राफ बिस्तारै तल गएको कुरामा पनि हेक्का राख्नुपर्छ । हामी परिवर्तनका हिमायतीहरुले केही भएकै छैन भनेर निराशा र जनतालाई डराउने खालको अवस्था सिर्जना गर्नुहुँदैन । जनताको भावना र मनोदशालाई नकारात्मक नहुने गरी आफ्ना कुरा राख्नुपर्छ भन्ने पनि त्यत्तिकै महत्वपूर्ण छ । यो अधिवेशनले आफ्नो जिम्मेवारी ठीक ढंगले पुरा गर्न सक्ने छ भन्ने विश्वास लिएको छु । ‘

कात्तिक ७, २०८१ बिहीबार २:३२:३१