‘यो संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन हो’

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको बताउनुभएको छ । वाम गठबन्धनको शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले देशमा केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरू देखा परेको बताउनुभयो । उहाँले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गनुभयो ।

एमालेप्रति लक्षित गर्दै उहाँले संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भूमरीतिर फेरि धकेल्ने कसरत गरिरहेको बताउनुभयो। अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मंसिर ४ गतेको निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै हुँदै छैन। किनकि केही समयदेखि नेपालको राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरू देखा परे। संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भूमरीतिर फेरि धकेल्ने कसरतहरू भए। त्यो प्रवृत्ति, विचारका विरुद्ध लड्नको लागि नै यो गठबन्धन बनेको हो। संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन हो।’

उहाँले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको बताउनुभयो अध्यक्षले देशमा पश्चगमन र अग्रगमनको दुई वटा विचार र प्रवृत्ति देखा परेको उल्लेख गर्नुभयो। उहाँले आगामी निर्वाचन देश, संविधान र लोकतन्त्रले जित्ने की हार्ने भन्ने कुराको निर्धारण गर्ने बताउनुभयो।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले दुई वटा विचार, प्रवृत्ति आमनेसामने भएका छन्। एउटा पश्चगमनतिर अर्को अग्रगमनतिर। एउटा संविधान मास्नेतिर, अर्को संविधानको रक्षा गर्नेतिर। एउटा लोकतन्त्रका विरुद्ध अर्को लोकतन्त्रका पक्षमा। त्यस कारण ४ गतेको निर्वाचन सामान्य छैन। देशले जित्ने हो कि होइन, संविधानले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ मंसिर ४ गतेको निर्वाचनले। यसलाई गम्भीरतापूर्वक आत्मसाथ गरी जनताको बीचमा बुझाउन आग्रह गर्दछु। गठबन्धन अहिले मात्रै बनको जसरी बुझ्नु पनि उचित हुँदैन।’

असोज ५, २०८१ शनिबार १६:२६:५५