यो सानो उद्देश्य लिएर चालेको अभियान होइनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सानो उद्देश्यबाट सञ्चालन भएको अभियान नभई समाजवादी क्रान्तिको आधार तयार पार्न थालिएको आन्दोलन भएको बताउनुभएको छ । जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान अन्तर्गत कीर्तिपुरका जनतासँग प्रधानमन्त्री प्रचण्ड साक्षात्कार कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामीले भन्नलाई चैं समाजवादी आधार तयार गर्ने भन्ने तर हाम्रा विचार, कार्यशैली र आचरण समाजवाद उन्मुख नहुने अवस्था सिर्जना भयो ।’ उहाँले क्रान्ति, बलिदान र युगान्तकारी परिवर्तनको नेतृत्व गर्ने पार्टी कमजोर हुँदै गएपछि त्यसको मूल्य सिंगो राष्ट्रले चुकाउने अवस्था आएपछि अभियानमा जनतासँग जोडिनु परेको बताउनुभयो ।

‘हामी गएको केन्द्रीय समितिको बैठकमा सबै केन्द्रीय सदस्यहरुलाई पार्टीलाई रुपान्तरणलाई गरेर राष्ट्रलाई जोगाउनु पर्छ भन्ने निश्कर्षमा हामी पुग्यौं ।’ अध्यक्ष प्रचण्डले आफूहरु सोही केन्द्रीय समितिको बैठकमा राष्ट्रको स्वाधिनता, राष्ट्रिय एकता र सार्वभौमिकताको रक्षा गरेर राष्ट्र बचाउने निचोडमा पुगेको उल्लेख गर्नुभयो । उहाँले समाजवादी क्रान्तिको आधार तयार गर्ने अभियानको आरम्भ पनि आफूहरुले नै गर्नुपर्ने भएकाले अभियानमा जानुपरेको बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार १०:१०:२०