राउटेहरुको मासिक भत्ता बढाउन अध्यक्ष प्रचण्डले पहल गर्ने

काठमाडौं, १ फागुन । राउटेहरुको मासिक भत्ता बढाउन अध्यक्ष प्रचण्डले सरकारसँग पहल गर्ने बताउनु भएको छ । अछामबाट आएको राउटेहरुको प्रतिनिधि मण्डलसँगको आज बिहान कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको समयमा राउटेहरुलाई सरकारले मासिक १ हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको थियो । राउटेहरुले आफूहरुको एक मात्र आशा अध्यक्ष प्रचण्ड नै भएको बताउँदै ५ हजार रुपैया मासिक भत्ता पुर्याईदिन आग्रह गरेका थिए । उनीहरुले तत्कालका लागि आफ्नो समुदायको कूल पुजा भएकोले केही खर्चको व्यवस्था गरिदिन, दीर्घकालिन रुपमा समुदायको स्वास्थ्य, सुरक्षा र खाध्यान्नको व्यवस्था लगायतका मागहरुका बारेमा पनि सरकारसँग पहल गरिदिन अध्यक्ष प्रचण्ड समक्ष अनुरोध गरेको थिए ।

सो अवसरमा अध्यक्षले खसी सहयोग लिने भन्दा खसी नै पाल्ने, बालबच्चाहरुलाई विद्यालय पठाउने, मासिक भत्ताको व्यवस्था गर्ने, सुरक्षा दिने, स्वास्थ्य सेवाका लागि घुम्ती स्वास्थ्य टोलीको व्यवस्था गर्ने लगायतका सुधार आवश्यक रहेकोले सो विषयमा सरकारमा पहल गर्ने बताउनु भयो ।

उक्त भेटघाटमा पार्टीका सचिव तथा उर्जा मन्त्री टोपबहादुर रायामाझीले राउटे समुदायलाई शिक्षा स्वास्थ्यको व्यवस्था गरी आधुनिक बसाई तिर लैजानु पर्ने धारणा राख्नुभयो । पार्टी स्थायी समिति सदस्य तथा वनमन्त्री अग्निप्रसाद सापकोटाले राउटेहरुले वन मन्त्रालयबाट बन रक्षकका लागि पाउँदै आएको रोकिएको तलब सुचारु गर्ने बताउनु भयो ।

मेचीकाली हिमालतराई अभियानका अभियन्ता कृष्ण केसीले राउटेहरुलाई संविधानमा सम्बोधन गरी उनीहरुको बेग्लै संरक्षण गर्ने निकाय बनाउनु पर्ने बताउनु भयो । सो अभियानका अर्का अभियन्ता नवल खड्काले एमाओवादी सरकारका पालादेखि पाएको भत्ता बढाउन पनि एमाओवादीले नै पहल गर्नुपर्ने बताउनु भयो । राउटेहरुले यहि फागुन १ गतेबाट फागुन १५ गतेसम्म आफ्नो कूलपुजा गर्ने गर्दछन् । सूर्यनारायण शाही, जीत बहादुर शाही र वीरबहादुर शाहीको टोलीले अध्यक्ष प्रचण्डसँग भेट गरेको थियो । भेटघाट कार्यक्रममा राउटेकी भान्जी सत्यदेवी खड्का अधिकारीले राउटेले भोगेका समस्याहरु र उनीमा आएको सुधार बारे बताउनु भएको थियो ।

raute_CMprachanda_meet (1)

कात्तिक ७, २०८१ बुधबार १५:२४:३०