राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिनेछः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने बताउनुभएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथिको दफावार छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले राजतन्त्रका पालामा गुमेको भूमि गणतन्त्रमा फिर्ता लिने ठाउँमा आइपुगेको बताउनुभयो ।

अध्यक्षले भन्नुभयो, ‘ आजको दिन राजतन्त्रले गुमाएको भूमिलाई गणतन्त्रले फिर्ता लिने ऐतिहासिक दिन हो ।’ उहाँले शान्ति र परिवर्तनको नयाँ युगलाई जन्मदिने प्रक्रियामा जनता र राजनैतिक दलका नेताहरुले नयाँ संस्कृति र परम्पराको विकास गरेको प्रष्ट्याउनुभयो । ‘नेपालीहरुमा राष्ट्रिय महत्वका, ऐतिहासिक महत्वका र दूरगामी महत्वका विषयमा सहमति र समझदारीबाट अगाडि जाने र राष्ट्रलाई निकास दिने नयाँ संस्कृति विकास भएर आएको छ ।’

उहाँले राष्ट्रिय जिम्मेवारीका साथ अघि बढ्ने नेपालीको परम्परा रहेको बताउनुहुँदै संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्दा जसरी सर्वसम्मति जनाएका छौं, अन्तिम निर्णयमा पुग्ने बेलासम्म पनि यसरी नैं सर्वसम्मति हुँदै सबै दल एकै ठाउँमा उभिन सक्ने उहाँको विश्वास थियो ।

‘यो कुनै व्यक्ति विशेषले गर्ने कुरा मात्रै पनि होइन । राष्ट्रिय सहमति बनाएर मात्रै यस्ता कुरा टुङ्ग्याउन यसअघि प्रधानमन्त्रीलाई सुझाव दिएको थिएँ,’ उहाँले भन्नुभयो । अध्यक्षले अब कुटनीतिक र राजनीतिक संवादबाट भूमि फिर्ता ल्याइने पनि बताउनुभयो ।

उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका गुमेका भूभाग लिने, त्यसको दावी प्रस्तुत गर्ने र भारतसँग राजनीतिक तथा कुटनीतिक तहमा वार्ता गरेर सदाका निम्ति समाधान गर्ने संकल्पको चरणमा आफूहरु आएको प्रष्ट पार्नुभयो ।

कालापानी, सुस्ता क्षेत्र विवादमा छ भन्ने कुरा भारत सरकारले बारम्बार स्वीकार गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो, ‘कश्मीर मुद्दामा लामो समयदेखि रहेको आफ्नो आन्तरिक समस्या समाधान गर्ने उपायका रुपमा नयाँ नक्सा प्रकाशित गरेको थियो । भारतको चाहना नेपाललाई जिस्क्याउनु थिएन होला ।’ भारतले आफ्नो ढंगले नयाँ नक्सा प्रकाशित गर्नु र विवाद छ भनेको भूमिलाई आफ्नो नक्सामा प्रकाशित गर्नु प्रकारान्तरले हामी सबैलाई झक्झक्याएको उहाँको भनाई थियो ।

कात्तिक ७, २०८१ बुधबार ९:२:३०