राजनीतिक परिवर्तन जनताले जीवनमा महशुस गर्ने हुनुपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनले जनतालाई आफ्नो दैनिक जीवनमा परिवर्तनको महशुस गराउन सक्नुपर्ने बताउनु भएको छ ।

नेपाल १४ औं अन्तर्राट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको राजधानीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘जनताले देख्ने भनेको कुन व्यवस्थाले उनीहरुको दैनिक जीवनमा र रोेजगारीमा कति राहात दियो, त्यहि बुझ्ने हुन् । जनताले परिवर्तनलाई परिणाममा नै बुझ्ने हुन् । हामीले सबैतिर जनताले देख्ने र महशुस गर्ने गरी परिवर्तनको अनुभूति गराउन सक्नुपर्यो ।’

अध्यक्षले वर्तमान राजनीतिक परिवर्तनलाई अवसरका रुपमा सदुपयोग गर्न र परिणाममा नै विकासको अनुभूति दिन नसके परिवर्तनको दिगोपना माथि नै प्रश्न उठ्ने बताउनु भयो । उहाँले वर्तमान राजनीतिक परिवर्तनलाई काँचो माटोको संज्ञा दिँदै भन्नुभयो, ‘हामीले जस्तो बनाउन सक्यौं त्यस्तै बन्छ । हामीले नराम्रो बनायौं भने यसको दुश्परिणाम निस्किन्छ र राम्रो गर्यौं भने राम्रो व्यवस्था स्थापित हुन्छ ।’

राजनीतिक परिवर्तनलाई सदुपयोग गर्न नसके देश फेरि अराजकता तिर जाने अध्यक्षको चिन्ता थियो ।
अध्यक्ष प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्योग व्यवसायको क्षेत्रमा देशले अवलम्बन गरेको वर्तमान नीतिमा आमूल सुधार आवश्यक रहेको बताउनु भयो । अब ढिला नगरी राष्ट्रीय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बेला आएको उहाँको भनाई थियो ।

अध्यक्षले भन्नुभयो, ‘आम नेपाली जनता र तपाई हामी सबैको अपेक्षा अब देशमा राजनीतिक स्थिरता र आर्थिक विकासले गति लिन्छ भन्ने भएको छ ।’ उहाँले स्थानीय तहमा बजेट विनियोजन गर्दा प्रत्येक निकायमा ग्रामिण उद्योग स्थापनाका निम्ति रकम छुट्याउन सरकारलाई आग्रह गर्ने विश्वास दिलाउनु भयो ।

उहाँले समर्थनको हिसावले दुईतिहाई बहुमतको सरकार धेरै वर्षपछि प्राप्त गरेको बताउँदै पहिलो पटक दुईतिहाईको सरकारले बजेट निर्माण गर्न गइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘औधोगिक क्षेत्रको विकास बिना रोजगारीले गति लिन सक्दैन । कृषिमा आधारित उद्योगहरुको विकास बिना औधोगिक क्षेत्रको विकासको आधार बन्न सक्दैन । यसमा सबैले नयाँ संकल्प गर्नुपर्ने आवश्यकता छ ।’

महोत्सवले दिने सुझाव र निश्कर्ष आउने दिनमा सरकारका नीति तथा कार्यक्रम निर्माणमा पनि महत्वपूर्ण हुने उहाँको विश्वास थियो ।

कात्तिक ७, २०८१ बिहीबार ४:१०:१८