‘राजनीतिक परिवर्तनलाई जीवन्त तुल्याउने संगीत, कला, साहित्य र संस्कृतिले नै हो’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनलाई संगीत, कला, साहित्य र संस्कृतिले नै जीवन्त तुल्याउने बताउनु भएको छ । शुक्रवार साँझ राजधानीमा आयोजित मेची महाकाली साङ्गीतिक अभियानको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘यदि संगीत, कला, साहित्य र संस्कृति जीवन्त नतुल्याउने हो भने राजनीति निरस भएर जान्छ ।’

मेची महाकाली साङ्गीतिक अभियानको सुरुवात समय सान्दर्भिक भएको र यसले नेपाली जनताले गरेको नयाँ समृद्धि र सभ्यतासहितको नयाँ युगको अपेक्षामा ठूलो टेवा मिलोस् भन्दै शुभकामना दिनुभयो ।

अध्यक्षले संगीतकार र कलाकारहरुलाई रोयल्टीको अधिकार स्थापित गर्न पुरै सहयोग हुने विश्वास दिलाउनु भयो । उहाँले भन्नुभयो, ‘शान्ति सम्झौतामा हस्ताक्षर गरेर यो राजनीतिक प्रक्रियामा समावेश भैसकेपछि कलाकार र संगीतकारलाई राज्यको तर्फबाट प्रोत्साहन गर्न, सहयोग गर्न र उनीहरुको अधिकार स्थापित गर्न हमेशा मेरो ध्यान रहेको छ ।’

‘मैले पहिलो पटक प्रधानमन्त्री हुँदा कलाकारको अक्षयकोषमा एक करोड रुपैयाँ सहयोग गरेको थिएँ । अब म संगीतकार कलाकारहरुलाई त्यसरी नै राज्यको तर्फबाट सहयोगका लागि पहल गर्ने विश्वास दिलाउन चाहान्छु’, उहाँले भन्नुभयो ।

उहाँले अहिले नेपाल नयाँ अवसर र चुनौतिसहित इतिहासको असाध्यै महत्वपूर्ण क्षणमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले यो अवसरलाई राम्रोसँग सदुपयोग गर्न सक्यौं भने समृद्धि, सभ्यता र अनुशासनको एउटा नयाँ युग प्रारम्भ हुने बिन्दुमा हामी खडा छौं तर हामीले त्यसलाई सदुपयोग गर्न सकेनौं भने निकै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने खतरा पनि छ ।’

अभियान मार्फत राष्ट्रिय एकताको संवेदना र परिवर्तन समृद्धि र विकासको सन्देश दिने प्रयास अर्थपूर्ण रहेको अध्यक्ष प्रचण्डको धारणा थियो ।

नेपाल समग्र देश संगीतमय

अध्यक्ष प्रचण्डले नेपाल देश आफैं संगीतमय देश भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रा नदीनालाहरु झरनाहरु, छहराहरु, हाम्रा भीर पाखा पखेराहरु आफैं संगीत हुन् । हाम्रा जाति, भाषा र संस्कृति आफैंमा मौलिक संस्कृति र संगीतका धनी छन् । ती सबैको संश्लेषण गरेर हामीले एउटा नयाँ र मौलिक संस्कृति र संगीत विकास गर्दै आएका छौं ।’

राजनीतिक रुपमा निरंकुश व्यवस्थामा पनि संगीत र कलाको क्षेत्र फस्टाउनबाट कसैले रोक्न नसकेको अध्यक्ष प्रचण्डको भनाई थियो । नेपालको विविधतामा एकता नै हाम्रो राष्ट्रको पहिचान र गौरव हो, उहाँले भन्नुभयो, ‘यो गौरवलाई संगीत, गीत र कला मार्फत संवेदनासहित नयाँ राष्ट्रिय एकता र नयाँ समृद्धिको यात्रातिर अगाडि बढ्न हामी सबैले संकल्प गरौं ।’

संगीतप्रतिको लगाव

अध्यक्ष प्रचण्डले आफ्नो परिवारमा पनि संगीत र संवेदनाको स्थिति रहँदै आएको बताउनु भयो । युद्धका समयमा र शान्ति प्रक्रिया पश्चात पनि गीत संगीतप्रति आफ्नो संवेदनशीलता र भावुकता राष्ट्रले देखिसकेको उहाँको भनाई थियो ।

उहाँले आफ्नो बिहानको शुरुवात नेपाली गीत संगीतबाट हुने बताउँदै भन्नुभयो, ‘मेरो बिहान ५ बजेबाट सँधै नै आधी घण्टा पुुराना संगीतकार र नयाँ संगीतकार त्यसैगरी पुराना गायक र नयाँ गायकका गीत संगीत सुनेपछि सुुरु हुन्छ ।

हरेक दिन बिहान बिहान ५ बजे प्रेमध्वज प्रधान र अरु धेरै बरिष्ठ पुराना संगीतकारका गीत र संगीतबाट र आधुनिक गीतका नयाँ कलाकारहरुका गीत संगीत सुनेर आघी घण्टा बिताउँछु । र आधी घण्टा फिजिकल एक्ससरसाइज गर्छु र पसिना निकाल्छु ।

यसरी मेरो बिहानको दिनचर्या सुरु हुन्छ । मेरो त्यो आधी घण्टाले मानसिक ‘रिफ्रेस्मेन्ट’ भएको महशुस गर्छु । र आधी घण्टाको ‘फिजिकल एक्सरसाइज’ले भौतिक ‘रिफ्रेस्मेन्ट’ भएको महशुस गर्छु । मेरो घरमा एउटा कोठामा हार्मोनियम बज्छ, अर्को कोठामा गितार बज्छ यस्तै गर्दैगर्दै जीवन अगाडि बढिरहेको छ ।’

कात्तिक ७, २०८१ बुधबार ६:२५:५३