‘राजनीतिक परिवर्तनलाई दिगो बनाउन आर्थिक क्रान्तिको अभियान आवश्यक’ (भिडियो)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनलाई दिगो बनाउन आर्थिक क्रान्तिको अभियान आवश्यक रहेको बताउनुभएको छ । राजधानीमा आयोजित काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. २ का उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘ अब देशको प्रमुख एजेन्डा मुलुकको आर्थिक विकास निर्माण र समृद्धि हो । आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन सकिन्न ।’

अध्यक्ष प्रचण्डले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भुमरीमा फस्ने बताउनुभयो । आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवारहरूलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदाताहरूलाई उहाँले आग्रह गर्नुभयो ।

‘विकास निर्माण र समृद्धि नै अब हाम्रो मुख्य एजेन्डा हुनेछ। हामीले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन सकेनौं भने राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन सकिँदैन । स्थायित्व पनि नआउने र देश जहिले पनि निरंकुशता र अराजकताको भुमरीमा फस्ने कुरा रही नै राख्छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनबाट काठमाडौं–२ का साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताएर पठाउन त्यहाँका मतदातालाई आग्रह पनि गर्नुभयो । उहाँले चुनावपछि उनलाई विकास मन्त्रालयको मन्त्री बनाउने घोषणा गर्दै घर्ती भित्र धेरै अन्तर्निहित क्षमता रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “यस क्षेत्रका जनतालाई निर्धक्कसँग ओनसरी र प्रदेशसभामा उम्मेदवार रहेका उहाँको टिमका उम्मेदवारलाई विजयी गराउनुस् उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि बनाएर तपाईंहरुको अगाडि पठाइनेछ । यो विश्वास दिलाउन चाहन्छु ।”

असोज ५, २०८१ शनिबार १२:२८:३८