राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै होः अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताउनु भएको छ । बुधबार सुन्तली धुर्मुसले फाउन्डेसनले भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्षले भन्नुभयो, ‘फोलिटिक्स इज अ डर्टी गेम भन्ने एउटा थर्ट छ भने पोलिटिक्स इज क्लियर गेम भन्न अर्को थर्ट छ’, ‘तपाई हेर्नुहोला अबको १० वर्षभित्र नेपालको राजनीतिले सिंगो देशलाई एउटा अभियानतिर लिएर जानेछ ।’

अध्यक्ष प्रचण्डले अबको एक दशकमा नेपालको राजनीति सफा हुने बताउनुहुँदै नेपालको राजनीति फोहारबाट सफा बन्ने दिशामा गएको बताउनुभयो । ‘राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञै हुन्छ । अबको दस वर्षमा नेपालको राजनीति सफा हुनेछ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सिंगो देशलाई नयाँ दिशातिर लिएर जानेछ ।’

धुर्मुस सुन्तली फाउण्डेशनले जनताको मायालाई राष्ट्र निर्माणको काममा रुपान्तरण गरेर काम गरेको धारणा राख्दै उहाँले भन्नुभयो, ‘कलाकारिताको माध्यमबाट समाज रुपान्तरणको काम गर्नु भएको छ, धुर्मुस र सुन्तलीले ।’ स्वास्थ्यको लागि खेल, राष्ट्रको पहिचानको लागि खेल, समृद्धिको लागि खेल, अर्थतन्त्र र सँस्कृतिको लागि खेल बन्नुपर्ने उहाँको भनाई थियो । ‘राष्ट्रलाई एकतावद्ध गर्नको लागि खेल महत्वपूर्ण माध्यम बन्न सक्छ,’ उहाँले भन्नुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार १६:१३:३६