राष्ट्रिय एकताको आधारमा मात्र शान्ति, स्थिरता र विकास सम्भवः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले देशमा शान्ति, स्थिरता र विकासले गति लिने आधार राष्ट्रिय एकताको आधार भएको बताउनु भएको छ । नेपाली काँग्रेसद्वारा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, “राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हिजो जति थियो आज पनि त्यति नै छ । यो देशमा जतिपनि ठूला ठूला राजनीतिक परिवर्तनहरु भएका छन् राष्ट्रिय एकताका आधारमा मात्र भएका छन् ।”

राजनीतिक दल, बुद्धिजीवि र नागरिकहरुका बीचमा एकता नभईकन राजनीतिक स्थिरता र विकास जनताको भावना र आवश्यकता परिपूर्ती नहुने उहाँको धारणा थियो । अध्यक्षले अगाडि भन्नुभयो, “ हामीले मिलेरै शान्ति प्रक्रियालाई एउटा टुंगोमा पुर्यायौं भलै समापन गर्न काम अझै बाँकी छ । हामीले मिलेरै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । हामीले मिलेर नै निर्वाचन गर्याैं । अब पनि हामी मिलेर नै फेरि संविधानको मर्म भावना अनुसार जनताको चाहाना अनुसार विकास र समृद्धिको एउटा नयाँ यात्रातिर जानुछ ।”

विश्वेश्वर प्रसाद कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिको सन्दर्भ स्मरण गर्दै अध्यक्ष प्रचण्डले सात दलको तर्फबाट गिरिजाप्रसाद कोइराला र तत्कालिन नेकपा (माओवादी)का तर्फबाट आफूले हस्ताक्षर गर्दा पनि राष्ट्रिय एकताकै आधार मानिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय एकताको आधार मानिएकै कारण यो परिवर्तन सम्भव भयो यद्दपी परिवर्तन अझै राम्रो संस्थागत भईसकेको छैन ।”

जनताले छिटोभन्दा छिटो समृद्धि चाहेका बताउनुहुँदै अध्यक्ष प्रचण्डले यो पनि राष्ट्रिय एकताद्वारा मात्रै सम्भव हुने बताउनुभयो । “त्यसकारण यी पर्वहरुका सन्दर्भमा र चियापान आदान प्रदानका सन्दर्भमा ठण्डा दिमागले सोचेर राष्ट्रिय एकताकै माहौल बनाउने र राष्ट्रिय संकल्पसहित समृद्धिको यात्रामा जान नेपाली काँग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक र सम्पूर्ण जनसमुदायमा अपील गर्दै शुभकामना दिन चाहन्छु ।”

कात्तिक ९, २०८१ शुक्रबार १६:१८:०