रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्सव समारोहमा अध्यक्ष प्रचण्डले व्यक्त गर्नुभएको मन्तव्य

हामी लामो समय राजनीतिक परिवर्तनका निम्ति भनेर विभिन्न रुपमा आन्दोलनमा रह्यौँ । नेपालको पत्रकारिताले पनि देशको लोकतान्त्रिक परिवर्तनको निम्ति, गणतान्त्रिक परिवर्तनको निम्ति ठूलो भूमिका खेलेको कुरा इतिहासमा राम्रो रुपमा दर्ज भई नै सकेको छ । म ती दिनहरु पनि सम्झिराखेको छु, कसरी नेपालका पत्रकारहरुले शान्ति प्रक्रियाको निम्ति, लोकतान्त्रिक गणतन्त्रको निम्ति भूमिका खेले ? भन्ने कुरा कति कठिन दिनहरुमा जोखिम उठाएर भूमिगत रुपमा हामीसँग सम्वाद गर्ने, अन्तरवार्ता लिने, त्यसलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा स्थापित गर्ने र शान्ति सम्झौताको निम्ति पनि वातावरण बनाउने एउटा राजनीतिक लोकतान्त्रिक परिवर्तनको पनि वातावरण बनाउनेमा ऐतिहासिक भूमिका खेलेको स्मरण हामी सबेले गरेकै छाैँ ।

हाम्रो संक्रमणकाल अलि लामो भयो, यति लामो नहुनुपर्थ्याे । जति ठूलो राजनीतिक परिवर्तन हामीले गरेका थियौँ, त्यसको व्यवस्थापन जति छिटो गर्न सक्यो, त्यति राष्ट्र र जनताको हितमा हुने थियो । दुर्भाग्यवश हामीले त्यसलाई छिट्टै समापन, छिट्टै सम्पादन गर्न सकेनौँ । तर, खुसीको कुरा के हो भने हामीले अन्ततः त्यो परिवर्तनलाई संविधान सभामार्फत् सबैभन्दा लोकतान्त्रिक विधिमार्फत् संविधान घोषणा गरेर सम्पादन ग¥यौँ र हामी लोकतान्त्रिक निर्वाचनको प्रक्रियामार्फत अहिले त्यो परिवर्तनलाई संस्थागत गर्ने प्रक्रियालाई पनि सम्पादन ग¥यौँ र एउटा निष्कर्षमा अहिले स्थानीय, प्रादेशिक र संघीय सरकार गठन भई नै सकेको छ ।

अब समय फेरिएको छ, युग नयाँ आएको छ । हामीले आन्दोलन धेरै ग¥यौँ, हामीले भाषण धेरै ग¥यौँ, हामीले तर्क धेरै ग¥यौँ । अब हामीले जनतालाई परिणाम दिनु छ । लोकतन्त्र भनेको, गणतन्त्र भनेको, समावेशी लोकतन्त्र भनेको जनताको दैनिक जीवनमा प्रत्यक्ष रुपमा परिणाम ल्याउने, खुसी ल्याउने, सुख ल्याउने, समृद्धि ल्याउने परिवर्तन हो भनेर प्रमाणित गर्ने समय आएको छ । म अहिले अरु व्याख्या गर्दिनँ, अब हामीले सबैभन्दा पहिला त एउटा राष्ट्रिय संकल्प गर्नुछ । हामी तराई, मधेश, पहाड हिमाल, सम्पूर्ण नेपालीहरु, सबै जातजाति, भाषभाषी, संस्कृति, परम्पराका हामी सबै नेपाली हौँ । एकजुट भएर सुशासन, शान्ति, समृद्धिको एउटा नयाँ यात्रामा अगाडि बढ्ने संकल्प गरौं ।

प्रधानमन्त्रीजी यहाँ हुनुहुन्छ, म यहाँ छु र हामी धेरै विशिष्ट पात्रहरु यहाँ छौँ नेपाली इतिहासका । यतिबेला हामीले सुशासन, स्थिरता र समृद्धिको नारा लिएर निर्वाचनमा गयौँ, जनताले हामीमाथि भरोसा ग¥यो र हामीलाई अगाडि जाउ, हाम्रो साथ हुन्छ भनेर जनताले हाम्रा कुराहरुलाई अनुमोदन ग¥यो । यो अब राजनीतिक नेतृत्वको निम्ति, सरकारको निम्ति एउटा चुनौति र एउटा अवसरको रुपमा अगाडि आएको छ ।

यस्तो अवसर र चुनौति इतिहासमा पटकपटक आउँदैन । बिरलै खास–खास बेलामा मात्रै आउने अवसर र चुनौती अहिलेको नेतृत्वको काँधमा छ । त्यसकारण नेतृत्वले सम्पूर्ण नेपालीलाई विश्वासमा लिएर एकताको सुत्रमा बाँधेर एउटा राष्ट्रिय संकल्पसहित समृद्धि र शुसासनको नयाँ यात्रा शुरु गर्न सक्छ कि सक्दैन ? हामी अग्नि परीक्षामा छौँ । सम्माननीय प्रधानमन्त्रीजी अग्नि परीक्षामा हुनुहुन्छ । हामी सबै नेतृत्वकर्ताहरु एउटा ठूलो अग्नि परीक्षामा छौँ । हामी सबै नेपालीहरु पनि एउटा समृद्ध, सत्य, लोकतान्त्रिक नेपाल निर्माण गर्ने अवसरमा छौं । त्यसकारण हामी सबै सचेत नागरिकका निम्ति यो चुनौती पनि हो र अवसर पनि ।

समृद्धिको यात्रा, सुशासनको यात्रा, स्थिरताको यात्रा, एकाध व्यक्ति विशेष या पार्टी विशेषले मात्रै पूरा गर्न सक्ने कुरा होइन । हामी इतिहासमा जति पनि कुराहरु देख्छौँ, एउटा ठूलो क्षति र पीडाको बीचबाट गुज्रेपछि नै राष्ट्रले छिटछिटो समृद्धिको एउटा महायात्रा सम्पादन गरेका छन् । हामी एसियामा हेरे पनि, अफ्रिकामा हेरे पनि ल्याट्रिन अमेरिकी देशहरुमा हेरे पनि त्यो चीज देख्छौँ ।

हामीहरु पनि झण्डै ७० वर्षदेखि अराजकता, सुशासनको अभाव, शान्तिको अभावका कारण कहिँ न कहिँ परिवर्तनको निम्ति ठूलठूला बलिदानहरुको बीचबाट गुज्रियौँ । ठूलो क्षति र पीडाको बिचबाट हामी गुज्रेर आएका छौँ । अब हामी सम्पूर्ण नेपालीहरु एउटा संकल्प गर्नुछ । अबको अवधि हामी सबै एक भएर प्रकृतिले दिएको जे बरदान छ, त्यसको हामी सदुपयोग गर्नेछौँ । हामीले संविधान सभा गठन ग¥यौँ, हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा ग¥यौँ, हामीले निर्वाचन सम्पन्न ग¥यौँ, लोकतन्त्र सुदृढ भयो । अब फेरि पनि विखण्डनका कुरा, फेरि पनि आन्दोलनका कुरा, फेरि पनि हिंसाको कुरा गर्ने भनेको योभन्दा दुर्भाग्यपूर्ण कुरा अरु केही पनि हुन सक्दैन । र, त्यो नेपाली जनतालाई सैह्य हुने कुरा पनि छैन । नेपाली जनता जुन प्रभावबाट गुज्रेर यहाँ आइपुगेका छन्, अब उनीहरु चाहन्छन्, छिटोभन्दा छिटो सुशासन र समृद्धिको एउटा नयाँ यात्रातिर देश जाओस् । त्योभन्दा बाहिर कसैले गतिविधि गर्न चाह्यो भने नेपाली जनता आफै त्यसलाई निस्तेज पार्न अगाडि आउने स्थिति बन्छ ।

त्यसकारण म आजको यो अवसरलाई म सबै राजनीतिक शक्तिहरु, सबै राजनीतिक प्रबृत्तिहरु, सबैलाई पनि यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्न अपिल गर्न चाहन्छु । हामीले एउटा राष्ट्रिय एकता कायम गरेर राष्ट्रिय संकल्पको प्रतिवद्धता गरेर नयाँ एउटा समृद्ध नेपाल निर्माण गर्नुछ ।

राष्ट्रिय एकता कायम गर्ने, सुशासन र समृद्धिको यात्रामा सबैलाई जोड्ने कुरामा राज्यको चौँथो अंग भनिएको पत्रकारिताको क्षेत्रबाट सबैभन्दा ठूलो भूमिका खेल्न जरुरी छ । म देशभरिबाट यो कार्यक्रम हेरी राख्नुभएका, सुनी राख्नुभएका सबै पत्रकार साथीहरु र जनतालाई अपील गर्न चाहन्छु, ‘अब समय बिल्कूल खेर नफालौँ । हामीले जनताको दिमागमा भ्रम छर्ने कुनै पनि गतिविधि नगर्ने सँकल्प गरौँ । जनतामा एकता पैदा गर्ने, सुशासन र समृद्धिको नयाँ यात्रामा सहाभागी हुने नयाँ मानसिकता, नयाँ संस्कारको विकास गर्नका निम्ति सबैले पहल गरौँ । सरकारले त्यसको नेतृत्व गर्दैछ । सरकाले त्यसको निम्ति पाइला चाल्दै छ । त्यसमा हामी सबैले आलोचना प्रतिआलोचना धेरै गरिसकेका छौँ ।

अब एउटा राष्ट्रिय संकल्पको यात्रा सुरु गर्ने हामी सबैले अभियान अगाडि बढाउँ । सायद त्यसले नै अबको नेपाल र आउने हाम्रा पिँढीहरुले भोलि हाम्रो यो अवसर र चुनौतिहरुलाई ठीक ढंगले बुझ्नेछन्, आत्मसात गर्नेछन्, म यो विश्वास व्यक्त गर्न चाहन्छु । आजको दिन बडो राम्रो दिन किन पनि भयो भने मैले राष्ट्रिय जीवनका धेरै व्यक्तित्व यहाँ देखेको छु । हामी सबैले एकचोटी प्रतिवद्धता व्यक्त ग¥यौँ, संकल्प ग¥यौँ भने नेपाल निर्माण गर्न गाह्रो छैन, त्यो सम्भव छ ।

यहाँ हाम्रा छिमेकी भारत र चीनबाट पनि महामहिम राजदूत र दूतावासका प्रतिनिधि हुनुहुन्छ दुवै छिमेकीको । यतिबेला दुवै छिमेकीबाट सहयोग लिने, उहाँले गरिराखेको विकासको यात्राबाट हामीले लाभ उठाउने यो अवसर हो । लामो समयसम्म नेपालमा विदेश नीतिका सन्दर्भमा ‘फुटाउ र राज गर’ भनेजस्तो कसैलाई प्रो–चाइनिज, कसैलाई प्रो–इण्डियन, कसैलाई प्रो–मोनार्की, कसैलाई प्रो–कांग्रेस भनाउने, त्यसरी नै राजनीति गर्ने र कहिल्यै पनि राष्ट्रिय एकता हुन नदिने, छिमेकीहरुसँगको सम्बन्धलाई सन्तुलिन बनाएर नेपाल राष्ट्र र नेपाली जनताको हितमा त्यसलाई सदुपयोग गर्न नदिने काम भयो । त्यतातिर मेरो धेरै गुनासो होइन । तर, अब समय फेरिएको छ । नेपाली जनता सार्वभौम भएका छन्, अब नेपाली जनतालाई विभाजित गर्ने होइन, नेपाली जनतालाई एकतावद्ध गर्ने राजनीति, अब हामी कुनै अरु कसैको प्रो होइन, हामी प्रो–नेपाल, प्रो–नेपाली र हाम्रा दुवै छिमेकीसँग राम्रो छिमेक सम्बन्ध राख्नुपर्छ । चीन र भारतको विकासबाट लाभान्वित हुनुपर्छ । गत वर्ष मैले त्यो अवसर प्राप्त गरेँ । गत साल प्रधानमन्त्रीको रुपमा दुवै छिमेकी देशका सरकारका प्रमुख र राष्ट्रप्रमूखलाई संगै भेटेर नेपालको ऐतिहासिक आवश्यकता के हो ? नेपाली जनताको चाहना के हो श्र भारत र चीनबाट नेपाली जनता कस्तो सहयोग चाहन्छन् ? भन्नेबारे नेपालको धारणा राख्ने मैले अवसर प्राप्त गरेको थिएँ ।

तर, त्यतिबेला हामी निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक तरीकाले जनताद्वारा अनुमोदित बलियो सरकारको अवस्थामा थिएनौँ । अहिले प्रधानमन्त्री केपी ओली झण्डै २ तिहाई बहुमतको अभिमतसहित प्रधानमन्त्री हुनुहुन्छ । लामो समयसम्मको राजनीतिक अस्थिरताको युग समापन गर्ने एउटा अवसर सरकारलाई प्राप्त छ । यो अवसरको सदुपयोग गर्न सबैले संकल्प गरौँ । पत्रकारिताको क्षेत्रबाट पनि हाम्रो अबको विदेश नीति, हाम्रो आन्तरिक राष्ट्रिय नीति, राष्ट्रिय एकता, नेपाल र नेपालीको समृद्धि र सबै छिमेकी एवं मित्रराष्ट्रसँग सन्तुलित सम्बन्धको एउटा नयाँ युग प्रारम्भ गरौं । यसको निम्ति पत्रकारिता क्षेत्र एउटा यस्तो क्षेत्र हो, जसले एउटा नयाँ मनोविज्ञान, नयाँ विचार र सोँचलाई आम जनतामा शक्तिको रुपमा रुपान्तरण गर्ने भूमिका खेल्न सक्दछ । म त्यो भूमिकामा खरो उत्रन पत्रकार साथीहरुलाई आह्वान गर्दछु ।

हामी पनि यो प्रक्रियामा आएको झण्डैझण्डै २० वर्ष भएछ । प्रधानमन्त्रीजी र मैले कहिलेकाहीँ कुरा गछौँ, उहाँ नेपालमा लोकतन्त्रको निम्ति भनेर, नेपालमा समृद्धि भनेर १४ वर्ष जेल बस्नुभयो, म चाहिँ नेपालको समृद्धि, विकास र परिवर्तनका लागि १४ वर्ष बनबास बसें । मैले भन्ने गरेको छु, ‘एउटा बनबास १४ वर्ष बस्यो, अर्को १४ वर्ष जेल बस्यो ।’ हाम्रो मिलन भएको छ, यो घोषणा भयो । जेलबास र बनबास केका निम्ति गरिएको थियो भने नेपाल राष्ट्रको निम्ति र नेपाली जनताको समृद्धिको निम्ति । अरु केही स्वार्थ थिएन । अब जनताले त्यो विश्वास गरेर त्यो अवसर दिएको छ, हामीले त्यो नचुकाउँ । म अन्तिममा मैले संसदमा बोलेको कुरा फेरि भन्छु, ‘अब जनताले भाषण भन्दा एक्सन हेर्न चाहेको छ, एक्सनमा जाउँ’ धन्यवाद ।

१७ चैत्र, २०७४, शनिबार

कात्तिक ६, २०८१ मंगलबार २३:२८:३७