लगानी बृद्धि गरेर विज्ञान प्रविधिलाई उत्पादनसँग जोडौं, ‘प्रधानमन्त्री’

कार्तिक २५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बृद्धि गरेर विज्ञान प्रविधिलाई उत्पादनसँग जोड्नुपर्ने बताउनु भएको छ ।
विश्व विज्ञान दिवसका सन्दर्भमा माओवादी केन्द्रसम्वद्ध नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले काठमाडौंमा आयोजना गरेको नेपालमा वैज्ञानिक अन्वेषणः सम्भावना र चुनौति विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘विज्ञान प्रविधिको विकास आजको अनिवार्य आवश्यकता हो । विज्ञान र प्रविधिको विकासका क्षेत्रमा राज्यले लगानी बढाउनुपर्छ । हाम्रो बजेट अनुत्पादक र अन्धविश्वासका क्षेत्रमा खर्च भइरहेको छ, हामीले यसलाई बदल्नुपर्छ । लगानी बृद्धि गरेर विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडौं । यसका लागि सरकारले प्रविधि र अन्वेषणको क्षेत्रमा उत्साहवद्र्धक लगानी गर्न तयार छ ।’
प्रधानमन्त्रीले विज्ञान प्रविधिलाई उपयोगभन्दा उत्पादनसँग जोड्नुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘हाम्रो प्रविधिको पहुँच उपभोगमा सीमित हुनु हुँदैन । हाम्रो प्रविधिलाई उत्पादनसँग जोड्नुपर्छ । कृषि र पर्यटनको क्षेत्रमा प्रविधिको प्रयोगद्वारा हामीले समृद्धि हासिल गर्न सक्छौं । त्यसका लागि सबैले प्रविधिलाई उत्पादनसँग जोड्नेबारे सोचौं ।’
प्रधानमन्त्रीले राज्यले विज्ञान र अन्वेषणको क्षेत्रमा लगानी नगर्ने र विज्ञान मन्त्रालयको मन्त्रीले हिनताबोधको अनुभूति गरुञ्जेल विज्ञानको विकासले प्रगति हासिल गर्न नसक्ने बताउनु भयो । कार्यक्रममा सांसद रबिन्द्र अधिकारीले विज्ञान र प्रविधिले राजनीतिक सपनाहरुलाई सार्थकतामा बदल्ने बताउनुभयो ।
विचार गोष्ठीको प्रधानमन्त्रीले रोबर्टद्वारा उद्घाटन गर्नुभएको थियो भने विभिन्न क्षेत्रका वैज्ञानिकहरुले प्रविधिको विकास र अवस्थाबारे अलग–अलग कार्यपत्र प्रस्तुत गरेका थिए ।

कात्तिक ७, २०८१ बुधबार ११:७:२५