लालपुर्जा, पासपोर्ट, नागरिकता आँगनमा पाउँदा जनताले संघीयता बुझ्छन्, ‘प्रधानमन्त्री’

फाल्गुण १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लालपुर्जा, पासपोर्ट, नागरिकता लगायतका सुविधा र अधिकार आफ्नै आँगनमा पाउँदा जनताले संघीयताको मर्म बुझ्ने बताउनु भएको छ ।
दिवङ्गत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसरमा निर्मित पत्रकार स्मृति स्तम्भको अनावरण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रले एउटा सिङ्गो युगको प्रतिनिधित्व गर्छ । तर, जनतालाई आम रुपमा त्यसको त्यति ठूलो सरोकार हुँदैन, जनताले आफ्नै जीवन र परिणाम हेरेर परिवर्तन अनुभूत गर्छन् । अहिलेको सन्दर्भमा जनताको मन छुने विषय स्थानीय निर्वाचन नै हो । हाम्रो संविधानले स्थानीय तहलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार दिएको छ । स्थानीय तहको निर्वाचनपछि जनताले नागरिकता, पासपोर्ट, लालपुर्जा आफ्नै आँगनमा पाउँछन्, आफैले आफ्नो साधन र स्रोतको परिचालन गर्छन्, त्यसपछि बल्ल उनीहरुले गणतन्त्र र संघीयताको वास्तविक महत्व बुझ्छन् र त्यसको स्वामित्व लिन्छन् ।’
सरकारले घोषणा गरेको निर्वाचनबारे चर्चा गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘निर्वाचन एउटा अभियान हो, आन्दोलन पनि हो । सबै राजनीतिक दल, नागरिक समाज, पत्रकार, सामाजिक संघसंस्था एकढिक्का भएर अभियानका रुपमा लागेर निर्वाचन सफल पारौं । स्थानीय तहको निर्वाचनपछि देशको मुहार बदलिनेछ, जनताको जीवन बदलिनेछ ।’
अहिलेको युग सूचना प्रविधिको युग भएकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘२१ औं शताब्दीलाई सूचनाको युग, सञ्चारको युग भनेर चिनिन्छ । सूचना, सञ्चारको क्षेत्रमा नेपालले पनि ठूलो फड्को मारिसकेको छ । सञ्चारको गुणात्मक विकासका लागि सरकारले के गर्नुपर्छ, तपाईहरु सल्लाह गरेर सरकारलाई सुझाव दिनुस्, सरकार त्यसका लागि तयार छ । सञ्चार क्षेत्रमा देखिएका विकृति राज्यले होइन, तपाईहरुको आफ्नै प्रतिस्पर्धाद्वारा नियन्त्रण र मर्यादित गर्नुस् ।’
कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, सञ्चारकर्मी किशोर श्रेष्ठ लगायतले सञ्चार क्षेत्रको महत्वबारे बोल्दै सञ्चार क्षेत्रको गुणात्मक विकासका लागि राज्यले खेल्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

कात्तिक ७, २०८१ बिहीबार ३:१:४९