लेनिन जयन्ती तथा नेकपा स्थापना दिवसका अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गर्नुभएको प्रेस वक्तव्य

प्रेस बक्तव्य
नेपाल कम्युनिष्ट पार्टीको ६८ औं स्थापना दिवस तथा सर्वहारा वर्गका महान् विचारक तथा साम्यवादी नेता क. भी.आई. लेनिनको १४७ औैं जन्म दिवसको अवसरमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्पूर्ण जनमसुदायमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दछ । यस अवसरमा महान् सहिदहरुप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुप्रति सम्मान र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछ ।
आजको २१औं शताब्दीमा विश्व परिस्थितिमा अनेकौं महत्वपूर्ण परिवर्तन भए पनि क. लेनिनले भने झै हामी साम्राज्यवाद एवं सर्वहारा क्रान्तिको युगमा नै छौं । त्यसैले लेनिनले देखाउनुभएको क्रान्तिको सिद्धान्त र वर्गसंघर्षको हतियारले हाम्रा लागि आज पनि मार्ग निर्देशनको काम गरिरहेको छ ।
लेनिनको जन्म दिवसको अवसर पारेर आजभन्दा ६८ वर्ष अघि २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलन अनेकौं आरोह–अवरोह, घुम्ती र मोडहरु पार गर्दै अघि बढिरहेको छ । जनयुद्ध र जनआन्दोलन हुँदै आएको यो आन्दोलन अहिले पनि राष्ट्रिय राजनीतिको केन्द्र भागमा छ । जनयुद्धको जगमा भएको जनआन्दोलनले केन्द्रिकृत राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायतका उपलब्धिहरुलाई सुनिश्चित गरेको छ । जसले आगामी दिनमा क्रान्तिलाई पूर्णता दिँदै समाजवादी समाज निर्माणको दिशामा अगाडि बढ्न महत्वपूर्ण आधार तयार भएको छ । तसर्थ प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिहरुका निम्ति संघर्ष गर्नु आजको आवश्यकता हो ।
अग्रगामी शक्ति र परिवर्तनलाई संस्थागत गर्न नदिने र मुलुकलाई यथास्थितिमा रुमल्याउन चाहने शक्तिबीचको संघर्ष पेचिलो बनिरहेको आजको विशिष्ट अवस्थामा तीनै तहको निर्वाचन सम्पन्न गरी संविधान क्रियान्वयनको सुनिश्चिताद्वारा राजनैतिक संक्रमण कालको अन्त्य गर्नु आजको मुख्य कार्यभार हो ।
स्थानीय तहको निर्वाचनद्वारा सिंहदरबारको अधिकार गाउँ–नगरमासम्म पुग्ने ऐतिहासिक अवसर आज हाम्रा सामु आएको छ । यस अवसरको सदुपयोग गर्दै मुलुकलाई समृद्धिको दिशामा लैजान सबै राजनैतिक शक्ति र आम जनसमुदायमा हाम्रो पार्टी हार्दिक अपील गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित !
९ वैशाख, २०७४ (२२ अप्रिल)

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

कात्तिक ६, २०८१ बुधबार १:२:९