लेनिन दिवसका अवसरमा अध्यक्षद्वारा जारी शुभकामना

CMPrachanda_statement on Lenin-dayशुभकामना
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा महान् साम्यवादी नेता भि.आई. लेनिनको १४६ औं जन्म जयन्तीको अवसरमा हाम्रो पार्टी नेपालका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी एवम् प्रगतिशील र देशभक्त जनसमुदायमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
लेनिनको जन्म जयन्तीको अवसर पारेर ६७ वर्ष अघि २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।  नेपालको कम्युनिष्ट आन्दोलन अनेकौं आरोह र अवरोह छिचोल्दै अघि बढिरहेको छ । जनयुद्ध र जनआन्दोलन हुँदै आएको यो आन्दोलन अहिले पनि राष्ट्रिय राजनीतिको केन्द्रमा छ । जनयुद्धको जगमा भएको जनआन्दोलनले शताब्दीयौं लामो राजतन्त्रलाई अन्त्य गरी संविधानसभाद्वारा गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीता, लगायतका राजनीतिक उपलब्धि सुनिश्चित गरेको छ । जसले समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न महत्वपूर्ण आधार तयार गरेको छ । यी उपलब्धिहरुका लागि नेपाली जनताका हजारौं सर्वश्रेष्ठ छोराछोरीहरुले बलिदान दिएका छन् । प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीहरुको निम्ति संघर्ष गर्नु आजको हाम्रो दायित्व हो ।
२१ औं शताब्दीमा विश्व परिस्थितिमा अनेकौं महत्वपूर्ण परिवर्तन आए पनि हामी साम्राज्यवाद एवम् सर्वहारा क्रान्तिको युगमा छौं । लेनिनले अघि सार्नुभएको क्रान्ति तथा कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त लगायतका प्रस्तावनाहरुको महत्व घटेको छैन । लेनिनले देखाउनु भएको क्रान्तिको सिद्धान्त हाम्रा लागि मार्ग निर्देशन बनिरहेको छ ।
पार्टी स्थापना दिवस र लेनिन दिवसको यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको लागि अपील गर्दछ । जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गरी समाजवादी क्रान्तिको दिशामा अघि बढ्न आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ  ।
१० बैशाख, २०७३ (२२ अप्रील)
……………….
प्रचण्ड
अध्यक्ष
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

कात्तिक ६, २०८१ बुधबार ५:२३:२१