लोकतान्त्रिकका सहअध्यक्ष रायसहित ६५०० माओवादीमा प्रवेश

भदौ १४, सर्लाही । विजयकुमार गच्छदारको नेतृत्वमा रहेको मधेशी लोकतान्त्रिक फोरमका केन्द्रीय सहअध्यक्ष रामेश्वर राय यादवसहितका ६५०० नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बुधबार सर्लाहीको चक्रघट्टीमा आयोजित बिशाल पार्टी प्रवेश कार्यक्रममा नेता रायसहित विभिन्न पार्टीका दर्जनौं केन्द्रीय सदस्य, सयौं जिल्ला स्तरीय नेतासहित ६५०० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा नेता रायको नेतृत्वमा फोरम लोकतान्त्रिकका करिब २५०० जना, लोकतान्त्रिककै नेता सत्यनारायण यादवको नेतृत्वमा ५५१ जना, सद्भावना पार्टीका केन्द्रीय सदस्य जीतनारायण साहको नेतृत्वमा १२०० जना, एमाले नेता बिगु यादवको नेतृत्वमा ४२२ जना, राप्रपा नेता राजीवकुमार कुशबाहाको नेतृत्वमा २२५ जना, संघीय समाजवादी फोरमका नेता राम असेर महतोको नेतृत्वमा ८६ जना, कांग्रेस नेता रामपुकार रायको नेतृत्वमा २०० जना, एमालेका पूर्व गाबिस अध्यक्ष राजकिशोर राउतको नेतृत्वमा ४५५ जना, माओवादी कम्युनिष्ट केन्द्रका नेता मुस्तकिम अन्सारीको नेतृत्वमा १५ जना, राजपाका केन्द्रीय सदस्य काँसी प्रतिहस्तको नेतृत्वमा २२५ जना, मधेशी फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष बीरेन्द्र चौधरीको नेतृत्वमा ४८५ जना, संघीय समाजवादी फोरमका नेता रामबिलास यादवको नेतृत्वमा २२० जना गरी ६५०० जनाभन्दा बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।


माओवादी केन्द्रमा प्रवेश गर्दै लोकतान्त्रिक फोरमका सहअध्यक्ष रामेश्वर राय यादवले पहाड र मधेशलाई समान ठान्ने र बराबरीको व्यवहार गर्ने नेता प्रचण्ड मात्रै भएकाले आफू माओवादी केन्द्रमा आएको बताउनु भयो । नेता रायले भन्नुभयो, ‘नेपालका सबै जाति, समुदाय र भूगोललाई समान ठान्ने र बराबरीको व्यवहार गर्ने नेता प्रचण्ड मात्रै हो । कतिपय नेता पहाडलाई मात्रै देश ठान्छन्, मधेशीलाई नेपाली नै ठान्दैनन्, मधेशवादी दलका नेताहरु पहाडलाई आफ्नो ठान्दैनन् । नेपालमा प्रचण्डजी मात्रै त्यस्तो नेता हो, जसले पहाड र मधेशलाई समान ठान्नुहुन्छ, बराबरीको व्यवहार गर्नुहुन्छ । त्यसैले अब जनताको एक मात्रै पार्टी माओवादी केन्द्र हो भन्ने सोचेर यहाँ आएको छु ।’
‘मधेशवादी दल राजनीतिका नाममा सडक थापिएका पसल हुन् । आफ्ना श्रीमति, ज्वाईहरुलाई माननीय बनाउने बाहेक जनताका लागि यिनीहरुले के गरे’, नेता रायले भन्नुभयो, ‘मधेशमा बिपत्ति आउँदा उनीहरु जनताको साथमा छैनन् । मधेशको मुद्धा बोकेर आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्ने सोचले देशको विकास हुँदैन । माओवादी पार्टी मात्रै यस्तो पार्टी हो, जसले राजनीतिक अधिकारको पनि कुरा गर्छ, अनि आर्थिक समृद्धि पनि । प्रचण्डजीले आफ्नो दश महिने कालमा जुन विकास गर्नुभयो, त्यसलाई नेपालीले कहिल्यै भूल्ने छैनन् ।’


पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिमाल, पहाड र तराई—मधेशका गरीब र उत्पीडितहरुलाई एक हुन अपील गर्नुभयो । प्रचण्डले भन्नुभयो, ‘पहाडमा पनि सामन्त छन्, मधेशमा पनि सामन्त छन् । पहाडका सामन्तले पहाडलाई मात्रै देश ठान्छन्, खोक्रो राष्ट्रियताको कुरा गर्छन् र मधेशी जनताको अपमान गर्छन् । मधेशमा पनि सामन्त छन्, उनीहरु नेपालको एकता चाहँदैनन्, पहाडीलाई घृणा गर्छन् । यी दुवै अतिवाद हुन्, नश्लवाद हुन् । अब हिमाल, पहाड र तराई—मधेशका गरीब र उत्पीडितहरु एक होऔं, देशको हित र जनताको अधिकारको पक्षमा लडौं, पहाड र मधेशका सामन्तहरुलाई पराजित गरौं ।’
‘माओवादी मात्रै यस्तो पार्टी हो, जसले हिमाल, पहाड र मधेशलाई जोड्न चाहन्छ, देशलाई एकतावद्ध गर्न चाहन्छ, सबै जाति र समुदायलाई अधिकार र पहिचान दिन चाहन्छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘काठमाडौं विकसित हुनुमा मधेशको योगदान छ, मधेशको विकास र समृद्धिका लागि पहाड आवश्यक छ । पहाडविरोधी र मधेशविरोधी भावनाले देशको हित गर्दैन, जनताको हित गर्दैन । रामेश्वरजी माओवादी आउनु सामान्य कुरा होइन, हजारौं नेता—कार्यकर्ताको प्रवेशले फेरी एकपटक राष्ट्रिय एकताको सन्देश दिएको छ ।’
बिहान ८ बजेबाट सुरु भएको पार्टी प्रवेश कार्यक्रम बेलुका ६ बजेसम्म चलेको थियो । अध्यक्ष प्रचण्डले माओवादी प्रवेश गर्ने नेता—कार्यकर्तालाई टिका लगाउन मात्रै झण्डै ६ घण्टा लागेको थियो । कार्यक्रममा माओवादी नेताहरु मातृका यादव, रामचन्द्र झा, विश्वनाथ साह, सहरी विकास मन्त्री प्रभू साह लगायतले सम्बोधन गर्नुभएको थियो ।

फागुन २३, २०८२ आइतबार १:७:३१