वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै लगिन्छः प्रधानमन्त्री

नेपालमा प्लाष्टिकजन्य पदार्थको व्यवस्थापनलगायत समष्टिगत वातावरणीय समस्याहरूसँग जुध्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झक्झकाउने अपेक्षासहित मेरो अध्यक्षतामा रहेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै लगिनेछ।नेपालको संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तह तीनै सरकारको कार्यक्षेत्रमा रहेको वातावरण संरक्षणको विषय सरकार, गैर-सरकारी क्षेत्र, प्राज्ञिक क्षेत्र, निजी क्षेत्र, आम नागरिक र उपभोक्ता सबैको सक्रिय चासो, चिन्ता र सरोकारको यसमा आवश्यकता पर्छ।

शुभकामना
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने प्रचलन सुरू भएको ५० औं वार्षिकोत्सवका अवसरमा सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्दछु।
यस वर्ष विश्वव्यापी रूपमा तय भएको नारा “Beat Plastic Pollution” र मूल विषय “Solutions to Plastic Pollution” लाई हाम्रो आफ्नै मौलिक शैलीमा “प्लाष्टिकजन्य प्रदुषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं” भन्ने राष्ट्रिय नाराकासाथ देशव्यापी रूपमा मनाउन लागिएकोमा खुसी व्यक्त गर्दै आ-आफ्नो ठाउँबाट यस राष्ट्रिय अभियानमा सरिक हुन सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आव्हान गर्दछु।
यो वर्ष हामीले वर्तमान वैश्विक जगतको सबैभन्दा महत्त्वपूर्ण वातावरणीय चुनौतीहरूमध्ये एक प्लास्टिक प्रदुषणलाई प्रमुखताका साथ उजागर गर्ने गरी यस दिवस मनाउन गइरहेका छौं। प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अंग बनिसकेको छ। एकातर्फ, यसले उद्योगमा क्रान्ति ल्याएको छ, हाम्रो दैनिक सुविधाहरूमा सुधार गरेको छ र हामीलाई अनगिन्ती लाभहरू प्रदान गरेको छ। अर्कोतर्फ, यसको अत्याधिक र अव्यवस्थित प्रयोगले ठूलो वातावरणीय समस्या सिर्जना गरेको छ। हाम्रा महासागरहरू, ल्यान्डफिल साइटहरू, समथर भूमि, पहाडी, उच्चपहाडी र हिमाली क्षेत्रहरु जताततै प्लास्टिकको फोहोरले भरिएका छन्, जसले मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पुर्याउने खतरा बढ्दै गइरहेको छ।
प्रत्येक वर्ष, विश्वव्यापी रूपमा 400 मिलियन टनभन्दा बढी प्लास्टिकका सामाग्रीहरू उत्पादन हुने गरेको र यसको ठूलो हिस्सा विभिन्न नदी प्रणाली हुँदै महासागरहरूमा पुग्ने गरेको छ। यसले पारिस्थितिक प्रणालीलाई समेत नराम्रोसँग असर पुर्याउन सक्ने देखिएको हुँदा यसको नकारात्मक प्रभावसँग जुध्ने प्रयासस्वरुप संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा Plastic Pollution Treaty सम्बन्धी कार्य भइरहेको र यसमा नेपालको समेत सहभागिता रहँदै आएको छ।
नेपालमा प्लाष्टिकजन्य पदार्थको व्यवस्थापनलगायत समष्टिगत वातावरणीय समस्याहरूसँग जुध्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झक्झकाउने अपेक्षासहित मेरो अध्यक्षतामा रहेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै लगिनेछ।नेपालको संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तह तीनै सरकारको कार्यक्षेत्रमा रहेको वातावरण संरक्षणको विषय सरकार, गैर-सरकारी क्षेत्र, प्राज्ञिक क्षेत्र, निजी क्षेत्र, आम नागरिक र उपभोक्ता सबैको सक्रिय चासो, चिन्ता र सरोकारको यसमा आवश्यकता पर्छ।
अन्त्यमा, वातावरण क्षेत्रमा कार्य गर्ने सबैमा यस दिवसको नाराको व्यवहारिक कार्यान्वयनका लागि एकतावद्ध हुन आह्वान गर्दै सम्बद्ध सबैमा पुनः शुभकामना व्यक्त गर्दछु, धन्यवाद।
२२ जेठ, २०८०
पुष्पकमल दाहाल ‘प्रचण्ड’

असोज ६, २०८१ आइतबार २३:१९:९