विकास र समृद्धिका लागि शिक्षामा गुणस्तर वृद्धि गर्न आवश्यकः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र समृद्धिको लागि शिक्षामा गुणस्तर वृद्धि आजको आवश्यकता भएको बताउनु भएको छ ।

‘जनताको अपेक्षा र हाम्रो चाहना देशको विकास र समृद्धि हो’ पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसको लागि शिक्षामा गुणस्तर वृद्धि गर्न आवश्यक छ ।’ साझापुर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई बुधबार चितवनको साझापुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

शिक्षामा लगानी बढाएर शिक्षाको गुणस्तर वृद्धि गर्ने काममा सरकारको साथ रहने अध्यक्ष प्रचण्डको भनाइ थियो । उहाँले पश्चिम चितवनको शैक्षिक विकासमा साझापुर माविले पु¥याएको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सांसद विकास कोषबाट २० लाख रुपैयाँ दिने बताउनु भयो । सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिका लागि लाग्न उहाँले सरोकारवालालाई आग्रह समेत गर्नुभयो ।

त्यसैगरी अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारसँगको छोटो भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आउँदो असारसम्म द्वन्द्वपीडितका सम्पूर्ण समस्याहरु समाधान हुने बताउनुभयो । उहाँले द्वन्द्वपीडितको अवस्था पहिलेको जस्तो नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलेको तुलनामा धेरै नै सुधार भएको छ, अब सके जेठ नसकेपनि असारसम्म बाँकी रहेका शान्ति प्रक्रियाका सम्पूर्ण विषयवस्तुहरु टुङ्गो लाग्छन् ।’

कात्तिक ९, २०८१ शुक्रबार १८:१२:२३