समृद्धि र न्यायसहितको समाजवादको आधार निर्माणका लागि राष्ट्रिय सहमति आवश्यकः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं, २५ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास, समृद्धि र न्यायसहित समाजवादको आधार निर्माण गर्ने कुरा पनि राष्ट्रिय सहमतिबाट मात्रै हाँसिल गर्न सकिने बताउनु भएको छ ।

पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानले लेख्नुभएको ‘न्यायिक समितिः कार्यविधि र प्रक्रिया’ नामक पुस्तक लोकार्पण कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपालमा ठूला राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाट मात्रै सम्भव भएका हुन् र अब विकास, समृद्धि र न्यायसहित समाजवादको आधार निर्माण गर्ने कुरा पनि राष्ट्रिय सहमतिबाट मात्रै हाँसिल गर्न सकिन्छ ।’ सहमतिको वातावरणले अहिले पनि जनताको समृद्धिको लागि र परिवर्तनलाई संस्थागत गर्न आवश्यक भएको उहाँको धारणा थियो ।

अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू विकासको नयाँ युगतिर जाने लक्ष्यका साथ वर्तमान प्रक्रियामा आएको तर त्यो अनुसार अगाडि बढिरहेका छौँ त ? भन्दै प्रश्न गर्नुभयो । ‘शान्ति सम्झौता र संविधानमा व्यवस्था गरिएका मूलभूत कुराहरूको इमानदार कार्यान्वयन मार्फत अगाडि बढ्नु हामी सबैको ऐतिहासिक जिम्मेवारी बनेको मैले महसुस गरेको छ,’ अध्यक्षले भन्नुभयो, ‘शान्ति सम्झौता र संविधानमा व्यवस्था गरिएका मूलभूत कुराहरूको इमानदार कार्यान्वयन मार्फत अगाडि बढ्नु हामी सबैको ऐतिहासिक जिम्मेवारी बनेको मैले महसुस गरेको छ ।’

प्रदेश र स्थानीय तहलाई दिने सुरक्षा, प्रशासनिक, बजेटसम्बन्धि अधिकार दिँदा सिंहदरबारले कन्जुस्याइँ गरेको उहाँको भनाई थियो । संविधान कार्यान्वयनको प्रक्रिया हेर्दा स्थानीय र प्रदेश तहलाई विस्तारै कमजोर पारिँदै त छैन ? पुरानै संरचना र व्यवस्थालाई बलियो पार्ने कदम सिंहदरबारबाटै अग्रसर भएका त होइनन् भन्ने आफूलाई आभाष हुन थालेको अध्यक्षले बताउनुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार १६:१२:१०