‘विद्यार्थी संगठनबाट पार्टीको मात्रै नभएर मुलुककै लागि नयाँ पुस्ता तयार भएको छ’ (भिडियो)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मलेनलाई सम्बोधन गर्दै विद्यार्थी संगठनबाट पार्टीको मात्रै नभएर मुलुकको राजनीति अगाडि बढाउने पुस्ता तयार भइसकेको बताउनुभएको छ । सम्मेलनलाई शुभकामना दिँदै उहाँले विद्यार्थी संगठनबाट बाहिरिने नेताहरुलाई आफूले पार्टी केन्द्रीय कमिटीका लागि सिफारिस गर्ने बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘आज यो हलमा तपाईंहरूलाई हेर्दै गर्दा नेपाली कम्युनिस्ट आन्दोलनको मात्रै होइन नेपाली राजनीतिमा उत्तराधिकारी तयार भएको देखेँ ।’

अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिका लागि सानोतिनो सुधारले मात्रै नहुने बताएउनुभयो । उहाँहरुले समाजवादी क्रान्ति र रुपान्तरणका लागि ठूलै छलाङ मार्नुपर्ने बताउनुभयो । ‘समाजवादी क्रान्तिको निम्ति एउटा नयाँ रुपान्तरणको निम्ति सानोतिनो सुधारको तरिकाले हुँदैन । राम्रै छलाङ हान्नुपर्ने स्थिति छ । विद्यार्थीहरुको यो सम्मेलन त्यो दिशातिर जाने पाइला हुनसक्छ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।

उहाँले विचारको राजनीतिलाई विकसित गर्दै अघि बढ्नुपर्ने भन्दै उनले क्रान्तिकारीका लागि यो अन्तिम अवसर पनि हुनसक्ने बताउनुभयो । ‘हामीले आँट गर्दा, बल गर्दा परिवर्तन सम्भव छ’, प्रचण्डको भनाइ छ । उहाँले हामी नभएपनि अर्कोले गर्छ भनेर सन्तोष गर्ने स्थिति नभएको भन्दै अरुले गरे प्रतिक्रान्ति गर्ने र देश दुर्घटनामा पर्ने दाबी गर्नुभयो ।

नेपाली जनताको समग्र मुक्तिका लागि जनयुद्धको शुरुआत गरेको बताउँदै अध्यक्षले अहिले भने विगतको बलिदान र योगदानले माग गरेभन्दा फरक बुर्जवा संस्कृति पार्टीमा हावी भएको संकेत गर्नुभयो । ‘हामीले जनताको भावनाको प्रतिनिधित्व गर्दै मौलिक क्रान्ति गर्यौँ । तर, अहिले हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छ । हाम्रो क्रान्तिकारी कार्यशैलीमा स्खलन भएको छ ।’ उहाँले भन्नुभयोे, ‘हामी विस्तारै–विस्तारै जनयुद्ध र जनआन्दोलनलाई भुल्दै हामी पनि पद, पैसा, प्रतिष्ठाका निम्ति लाग्ने गरेका छौँ ।’

अध्यक्ष प्रचण्डले हिजो जनयुद्धमा लडाइँका क्रममा मर्न तयार भएर अग्रसर हुनेहरु आज पदको लोभमा फसेको बताए । ‘हिजो मलाई मोर्चा मर्न पठाउनु, मर्न तयार छु भनेर रोज्नेहरु, लड्न जान पाइएन, मर्न जान पाइएन भन्ने हामी आज बिग्रियौँ’, उहाँले भन्नुभयो, ‘अहिले पद पाइएन, पैसा पाइएन भनेर रुने भयौँ। मन्त्री पाइएन भने। रुने भयौँ। हामीले थाहै नपाई सहिद परिवारलाई भुल्यौँ, जनयुद्ध बिर्सियौँ ।’

‘लड्ने हो, भिड्ने हो, वाईसीएल र क्रान्तिकारी मिलेर टीम बनाउने हो, जाग्ने हो’, उहाँले भन्नुभयोे । पार्टी क्रान्तिकारी ढंगले चल्ने भन्दै आफूले ल्याएको परिवर्तन जोगाउन शान्तिपूर्ण संघर्ष गर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले प्रतिक्रियावादीलाई हेप्दा र लड्दा केही फरक नपर्ने भन्दै आफूले केही समय अघि ओलीलाई आगोसँग नखेल्ने भनेको स्मरण गराउनुभयो । ‘जनविरोधी तत्वलाई तह लगाएर मात्रै चयन हुन्छ’, अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा भन्नुभयोे ।

उहाँले पुस ५ पछिको घटनालाई २०५२ मा माओवादीले सशस्त्र विद्रोह गर्ने निर्णयपछिको अवस्थासँग तुलना गर्नुभयो । त्यतिबेला पनि मर्छौं भन्ने लागेको भन्दै सामूहिक तस्वीर लिएको स्मरण गराउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार २३:४२:१०