शनिबारः प्युठान, बाँके, कैलाली र बर्दियामा प्रधानमन्त्री (फोटो फिचर)

असोज १५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार एकैदिन प्य’ठान, बाँके, कैलाली र बर्दियाको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कनुभएको छ ।
नेपाल एयरलाइन्सको हेलिकोप्टरबाट बिहान ११ बजे प्युठान पुग्नुभएका प्रधानमन्त्रीले असार र श्रावण महिनामा गएको प्युठान जिल्लाको लुङ गाबिस, ६ बहानेमा गएको पहिरोको स्थलगत निरीक्षण गर्नुभयो ।
स्थानीय पीडितसँगको भेटघाटपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरुको पीडामा साथ दिन म प्युठान आएको छु । मैले सरकारको नेतृत्व गरेदेखि नै बाढी पहिरो पीडितलाई भूकम्प पीडित सरह राहत दिने निर्णय गरिएको छ । अनुदान, राहत र सहुलियत ऋण पनि भूकम्प पीडित बराबर बनाउने निर्णय गरिएको छ, यसको छिटो कार्यान्वयन हुनेछ । लुङको पहिरो नियन्त्रण, राहत र पूनर्बासका लागि सरकारले गम्भीर रुपमा काम गर्नेछ ।’ प्रधानमन्त्रीले सरकार जनताको पक्षमा काम गर्न आतुर रहेको जानकारी दिँदै पीडितले सरकारको अनुभूति गर्ने गरी काम गर्ने विश्वास दिलाउनुभयो ।
त्यसलगत्तै शनिबार बाँकेको नेपालगञ्जमा निर्माणाधीन सिक्टा सिंचाई आयोजनाको प्रधानमन्त्रीले निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘सिक्टा नेपालको आफ्नै लगानी, प्राविधिक र प्रशासनिक स्वामित्वमा सञ्चालित आयोजना हो । ४७ प्रतिशत काम भएको छ । समयभन्दा अगाडि काम सम्पन्न गर्नुहोला । सरकार छिटो र गुणस्तरीय काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्नेछ । नराम्रोका लागि होइन, राम्रोका लागि प्रतिस्पर्धा गरौं ।’
सिक्टा सिंचाई आयोजनाको निरीक्षणपछि प्रधानमन्त्रीले कैलालीको रानी जमरा कुलरिया सिंचाई आयोजनाको स्थलगत निरीक्षण गर्नुभयो । निरीक्षणका क्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘समयमै काम सम्पन्न हुनुपर्दछ । हामीले तोकिएको समयभन्दा छिटो आयोजना सम्पन्न गर्ने संस्कार र सोंचको विकास गर्न जरुरी छ । समयभन्दा छिटो आयोजना सम्पन्न गर्ने आयोजना र कर्मचारीलाई सरकारले पुरस्कृत गर्नेछ ।
निरीक्षणका क्रममा प्रधानमन्त्रीले सरकारी कार्यालयका प्रमूखहरुलाई निर्देशित दिँदै भन्नुभयो, ‘राजनीतिले छलाङ हान्यो, प्रशासनले त्यसलाई पछ्याउन सक्नुपर्छ ।
रानी जमरा कुलरिया सिंचाई आयोजनाको निरीक्षणपछि प्रधानमन्त्री माओवादी नेता तथा पूर्वमन्त्री रामचरण चौधरीको स्मृति सभा कार्यक्रममा सरिक हुनुभयो । शनिबार बर्दियाको खोल्टीबजारमा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामचरण थारुको स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘रामचरण उत्पीडित वर्गको आदर्श नेता हुनुहुन्थ्यो । उहाँ एक इमान्दार र कर्तव्यनिष्ठ नेता हुनुहुन्थ्यो । रामचरणलाई सम्झँदा पञ्चायतकालदेखि उहाँले गरेको त्याग र समर्पणको स्मरण भइरहेको छ । २०४६ सालको जनआन्दोलनभन्दा पहिलादेखि नै यस क्षेत्रको संगठन र संघर्षमा रामचरणले उच्च योगदान गर्नुभएको थियो ।’
प्युठानदेखि बाँके, कैलाली र बर्दियासम्मका चार महत्वपूर्ण औपचारिक र दर्जनौं अनौपचारिक कार्यक्रम र भेटघाटपछि शनिबार साँझ नै प्रधानमन्त्री काठमाडौं फर्कनुभएको छ ।

_DSC2334

प्युठान लुङको पहिरो निरीक्षणका क्रममा प्रधानमन्त्री।
प्युठान लुङको पहिरो निरीक्षणका क्रममा प्रधानमन्त्री।

_DSC2394

पहिरो निरीक्षणपछिको औपचारिक कार्यक्रममा प्रधानमन्त्री।
पहिरो निरीक्षणपछिको औपचारिक कार्यक्रममा प्रधानमन्त्री।

_DSC2518

सिक्टा सिंचाई आयोजना निरीक्षणपछि बोल्दै प्रधानमन्त्री।
सिक्टा सिंचाई आयोजना निरीक्षणपछि बोल्दै प्रधानमन्त्री।
रानी जमरा सिंचाई आयोजनाको निरीक्षणमा प्रधानमन्त्री।
रानी जमरा सिंचाई आयोजनाको निरीक्षणमा प्रधानमन्त्री।
रामचरण थारुका परिवारसँग प्रधानमन्त्री।
रामचरण थारुका परिवारसँग प्रधानमन्त्री।
रामचरण थारुको स्मृति सभामा प्रस्तुत सांस्कृतिक झलक।
रामचरण थारुको स्मृति सभामा प्रस्तुत सांस्कृतिक झलक।
रामचरण थारुको स्मृति सभामा बोल्दै प्रधानमन्त्री।
रामचरण थारुको स्मृति सभामा बोल्दै प्रधानमन्त्री।

कात्तिक ७, २०८१ बुधबार १४:२:७