शिक्षा क्षेत्रमा राज्यको लगानी प्रयाप्त नहुँदा देश अगाडि बढ्न सकेनः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रमा राज्यको लगानी प्रयाप्त नहुँदा देश अगाडि बढ्न नसकेको बताउनुभएको छ । शनिबार सर्लाहीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन एवं नेपाल लोकतान्त्रिक शिक्षक संगठन एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामीले बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउनुपर्छ भनेका थियौं । केपी ओलीको नेतृत्वको सरकारमा त झन् घट्यो । शिक्षालाई वैज्ञानिक र समाजवाद उन्मुख बनाउने, शिक्षा क्षेत्रमा काम गर्ने शिक्षक, कर्मचारी र प्राध्यापकहरुलाई समाजमा सम्मान दिने गर्नुपर्दछ । शिक्षक इमान्दार र जनतासँग जोडिएका हुन्छन् ।’

उहाँले अहिले पनि आफूहरुले चाहे जसरी अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो संघीयता, गणतन्त्र, समानुपातिक, समावेशीताका विरोधीहरु अहिले पनि यो संविधान लागु नहोस् भन्नेमा छन् ।’ अध्यक्षले त्यसका लागि अझै एउटा नयाँ आन्दोलन नगरी व्यवहारिक रुपले सबै समस्या समाधान नहुने स्थिति आउन पनि सक्ने उल्लेख गर्नुभयो । एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘जबसम्म मधेश माओवादीमय हुने छैन तबसम्म मधेशी जनताको अधिकार प्राप्त हुने छैन र विकास पनि हुने छैन । मधेशी जनतालाई झुक्याउने दिन गयो । अब जनता प्रष्ट भएपछि दुनियाँको कुनै पनि तागतले माओवादीसँग जनतालाई जोडिनबाट रोक्नसक्ने छैन ।’

त्यसैगरि अध्यक्षले यसअघि जनकपुरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गठबन्धन सरकार ‘स्मुथ्ली चलिरहेको बताउनुहुँदै यसमा कुनै समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दलहरुले आफ्नो राजनीतिक दायरा बढाउनु आफ्नो कुरा छ । तर गठबन्धनलाई असर गर्ने काम कतैबाट भएको छैन ।’ अध्यक्षले गठबन्धन अनुसार निर्वाचनमा जाने सैद्धान्तिक सहमति अनुसार अब पात्रको खोजी भइरहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले निर्वाचनसम्म गठबन्धन रहने र निर्वाचनका लागि पात्रको खोजीको गृहकार्यमा लाग्ने स्पष्ट गर्नुभयो ।

उहाँले मुलुकको न्यायालयको क्षेत्रमा समस्या देखिएकोले गठबन्धनका दलहरूले त्यसको लागि धारणा बनाउने प्रक्रियामा रहेको बताउनुभयो । ‘अहिले गठबन्धनको सरकार रहेकोमा गठबन्धन राम्रोसँग चलिरहेको, तर न्यायालयमा समस्या देखिएकाले गठबन्धनका नेताहरू काठमाडौंमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेका छौं, उहाँले भन्नुभयो, ‘अहिले गठबन्धनका नेताहरू काठमाडौँ भन्दा बाहिर भएकाले साझा धारणा बनाउनमा ढिलो भएको छ, बैठक बस्ने बित्तिकै गठबन्धनको धारणा आउँछ ।’

लामो समयदेखि संसद् विजनेशविहीन रहेको प्रश्नमा अध्यक्ष प्रचण्डले प्रतिपक्षी दलले संविधानको मर्म भावना विपरीत अनावश्यक रूपमा संसद् अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि नागरिकता विधेयक लगायत महत्त्वपूर्ण विधेयकहरू अगाडि बढ्ने बताउनुभयो ।

कात्तिक ८, २०८१ बिहीबार १६:१०:२५