शुक्रबार अध्यक्ष प्रचण्डद्वारा छ कार्यक्रमलाई सम्बोधन

असार ९, धनगढी । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डले कैलाली र कञ्चनपुरमा आयोजित ६ कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।
बिहान ८।०० बजे कैलालीको अत्तरियामा कार्यकर्ता प्रशिक्षण र बिहान ८।०० बजे कैलालीकै अत्तरियामा दोस्रो कार्यकर्ता प्रशिक्षणपछि अध्यक्ष प्रचण्ड कञ्चनपुर प्रस्थान गर्नुभयो । १०।३० बजे धनगढीको फूलबारीमा जनसभालाई सम्बोधन, दिउँसो १२।०० बजे कञ्चनपुरको पूनर्वासको जनसभालाई सम्बोधन, दिउँसो २।०० बजे कञ्चनपुरको बेलौरीमा आयोजित सभालाई सम्बोधन, र बेलुका ६।०० बजे शुक्लाफाँट–१ को सभालाई अध्यक्ष क. प्रचण्डले सम्बोधन गर्नुभयो ।
कैलालीमा कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले नीति र विचारमा माओवादी जिते पनि निर्वाचनको नजितामा जित्न थप संघर्ष गर्न कार्यकर्तालाई निर्देशित गर्नुभयो । स्थानीय निर्वाचन सिंहदरबारको अधिकार गाउँ नगरमा ल्याउने अभियान भएको बताउँदै अध्यक्षले माओवादीले जिते मात्रै जनताको अधिकारको रक्षा हुने बताउनु भयो ।

बिहान धनगढीको फुलबारीमा आयोजित जनसभामा प्रचण्डले भन्नुभयो, नेपाली राजनीतिमा सधै छलछाम र षड्यन्त्रलाई नै प्रश्रय दिइयो । जनता ढाँटेर, राजनीतिक सहमति लत्याएर राजनीतिलाई प्रदुषित गरियो । अहिले त्यो तोडिएको छ, नेपाली राजनीतिमा ईमान र निष्ठा बाँकी छ भन्ने कुरा हामीले प्रमाणित गरेका छौं ।’
त्यसलगत्तै पूनर्वासमा आयोजित सभामा बोल्दै प्रचण्डले भन्नुभयो, ‘म प्रधानमन्त्री भएकै बेला गोविन्द गौतमको शहादत भयो । त्यसलगत्तै मैले भारतीय पक्षसँग कुरा गरेर दुई देशबीच सीमा निर्धारण समिति बनेको छ । कार्यदलले कति काम गर्याे, त्यसको समीक्षा हुनेछ र सीमा व्यवस्थित गरिनेछ ।’ सभामा अध्यक्ष प्रचण्डले सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न आफ्नो विशेष पहल हुने जानकारी गराउनु भयो ।
पूनर्वासपछि बेलौरीमा आयोजित सभामा प्रचण्डले भन्नुभयो, ‘हिमाल, पहाड, तराईलाई मिलाएर जानू सक्कली राष्ट्रवाद हो । तर, एमालेका नेताहरु देशलाई भिडाउन लागे । एउटा जातिलाई अर्कोसँग भिडाउनु राष्ट्रवाद होइन, अतिवाद हो । एमालेले राष्ट्रवादका नाममा अतिवाद र झुटको राजनीति गरिरहेको छ । सबैलाई मिलाएर, सबैको अस्तित्व स्विकारेर, सबैलाई अधिकार दिएर र राष्ट्रिय एकता बलियो बनाएर मात्र देशको एकता बलियो हुन्छ ।’
शुक्रबारको अन्तिम कार्यक्रमका रुपमा शुक्लाफाँटा नगरपालिका–१ को चुनावी सभालाई अध्यक्षले सम्बोधन गर्नुभयो । सभामा अध्यक्ष प्रचण्डले ओलीलाई प्रधानमन्त्री र सुशीललाई राष्ट्रपति बनाउने प्रतिवद्दता गरेपछि मात्र कांग्रेस र एमाले संविधान जारी गर्न तयार भएको स्मरण गर्नुभयो । आफ्नो तीन दिने अभियान सम्पन्न गरी अध्यक्ष प्रचण्ड शनिबार बिहान काठमाडौं फर्कनुभएको छ ।

कात्तिक ७, २०८१ बुधबार १५:१४:१४