उहाँले सुशासन कायम गर्ने गम्भीर र पेचिलो लडाई भएको उल्लेख गर्दै त्यसका लागि प्रारम्भिक कदम चालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासन कायम गर्ने भन्न जति सजिलो छ त्यो उति नै चुनौतिपूर्ण छ । सुशासन भन्ने बित्तिकै भ्रष्टाचार नियन्त्रण गर्ने कुरासँग सम्बन्धित छ ।” प्रधानमन्त्रीले आफू सरकारको नेतृत्वमा आएको शुरुका दिनबाटै तीन वटा शब्दलाई सरकारको प्राथमिकताको रुपमा अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पहिलो सामाजिक न्याय, दोस्रो सुशासन र तेस्रो समृद्धि सरकारको उच्च प्राथमिकतामा रहने छ भनेर भनेको थिएँ ।”
प्रतिगमन विरुद्धको आन्दोलनको स्मरण गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, “दुई–दुई पटक संसद विघटन गरिएको थियो । त्यो संसद् विघटन थिएन, त्यो संविधान विघटन थियो । त्यो हजारौंको बलिदानबाट प्राप्त उपलब्धी उल्ट्याउने षडयन्त्र थियो । त्यसको केही समयपछि एकपटक हैन, तीन पटक काठमाडौँमा लाखौँ जनता आइसकेपछि उनीहरूका प्रतिगमनका षड्यन्त्रहरू परास्त भए, नेपाली जनता फेरी विजयी भए, हामी फेरी विजयी भयौँ ।”
प्रधानमन्त्रीले राजनीतिक परिवर्तनमा दलित समुदाय अग्रमोर्चामा रहेर क्रान्तिलाई सफल बनाउन भूमिका खेलेका उल्लेख गर्दै भन्नुभयो, “हामीले आफ्नै मौलिकतामा क्रान्ति अगाडि बढाउँदै लगेका थियौँ । तर आज परिवर्तन उल्टाउने कसरत भइरहेको छ । दलितको संवैधानिक अधिकारलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । दलितलाई दिइने विशेष अधिकार उपल्लो वर्गले दिने दान होइन । दलित आफैं लडेर ल्याएको अधिकार हो ।”