संघीय गणतन्त्रको संविधान संस्थागत गर्न निर्वाचन

फाल्गुण ६, प्रगतिनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान संस्थागत गर्न निर्वाचन अनिवार्य रहेको बताउनु भएको छ । शुक्रबार दिउँसो प्रथम देवचुली महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले संघीयता र गणतन्त्रको संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको बताउनु भएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘ठूलो आन्दोलनपछि हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्वाचन गरेका छौं । यसलाई सफल कार्यान्वयन गरेर परिवर्तनका मुद्दा जोगाउनु छ । त्यसका लागि २०७४ माघभित्रै तीनै तहका निर्वाचन सम्पन्न गर्न अनिवार्य छ ।’
संविधान कार्यान्वयन र आर्थिक समृद्धि सरकारको प्राथमिकतामा रहेको बताउँदै उहाँले भन्नुभयो, ‘मेरो नेतृत्वमा सरकार गठन भएदेखि नै सरकारको मूख्य जोड संविधान कार्यान्वयन र आर्थिक समृद्धिको दिशामा छ । यो नवलपुर क्षेत्र पनि कृषि, पर्यटन र सांस्कृतिक विविधताको प्रचुर सम्भावना भएको क्षेत्र हो । यसको विकासका लागि मैले आफ्नो ठाउँबाट आवश्यक पहल गर्नेछु ।’
नवलपुर क्षेत्रको विकासबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘प्रगतिनगर गा.वि.स.मा एउटा अत्याधुनिक सिटी हलको निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गर्ने छु । युवाहरूलाई रोजगारी, स्वरोजगारीमा सरिक गराउन सीपयुक्त जनशक्ति उत्पादन गर्ने ध्येयले प्राविधिक शिक्षालय निर्माण गर्न विशेष पहलकदमी लिनेछु । सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनिकरणका लागि यहाँको प्राथमिक स्वास्थ्य केन्द्रमा ट्रमा सेन्टर स्थापनामा मेरो सहयोग रहनेछ । नवलपुरबाट भीमाद हुँदै पोखरा जोड्ने सडक मार्ग कालोपत्रे गर्न सरकारले उच्च प्राथमिकता दिनेछ ।’

कात्तिक ८, २०८१ बिहीबार २०:१५:४४