संघीयता कार्यान्वयनमा नजाँदा परिवर्तनकारी खुम्चिए र यथास्थितिवादी हौसिएः अध्यक्ष प्रचण्ड

धनगढी । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संघीयता कार्यान्वयनमा नजाँदा अहिले परिवर्तनकारी शक्तिहरु खुम्चिने र यथास्थितिवादीहरु हौसिने अवस्था आएको बताउनुभएकाे छ । आज (शुक्रबार) धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा सम्बोधन गर्दै उहाँले भन्नुभयाे, ‘पुराना संरचनामा काम गरेकालाई विदाई गर्नुपर्ने थियो । आफूले भनेका मान्छे ल्याउनु पथ्र्यो । तर भएन ।’ अध्यक्षले राजनीतिक परिवर्तनसँगै पुरानो राज्यव्यवस्थामा काम गरेकालाई विदाई गर्न नसक्नु ठूलो कमजोरी भएको बताउनुभयो । धनगढीमा आयोजित उक्त सम्मेलन छिट्टै अर्काे एउटा लगानी सम्मेलनको तयारीको रुपमा आफूले बुझेको उहाँले बताउनुभयाे । अध्यक्ष प्रचण्डले हिजो राज्यबाट पछि पारिएका जनताको योगदान अरु कसैको भन्दा कमी नभएको भन्दै बरु बढी भएको बताउनुभयो ।

कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘उनै मूख्य सचिव, उनै सचिव (राजनीतिक परिवर्तन अघिका) अनि कसरी हुन्छ परिवर्तन ?’ कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको टिप्पणी गर्दै अध्यक्षले नेताले हार्ने र कर्मचारीले जित्ने अवस्था आउन नहुने बताउनुभयो ।

अध्यक्षले संघीयता लागू गर्ने सवालमा कर्मचारीतन्त्रबाट असहयोग भएको पनि उहाँले बताउनुभयो । राजनीतिकरुपमा ठूला–ठूला उपलब्धी हासिल गरे पनि कर्मचारीतन्त्रलाई आफू अनुकुल चलाउन नसक्नु हात्ती र्छियो पुच्छर अड्क्यो भनेजस्तै भएको अध्यक्ष प्रचण्डको भनाई थियो । ६२/६३ अगाडिका राजनीतिक परिवर्तनपछि कर्मचारीतन्त्र हाबी भएकै कारण उपलब्धी गुमेको बताएका अध्यक्षले फेरि पनि त्यस्तो अवस्था आए दुर्भाग्य हुने बताउनुभयो । कर्मचारीहरु केन्द्रिकृत मानसिकताबाट मुक्त हुन नसकेको बताएका उहाँले अहिलेको अवस्था हेर्दा फेरि पनि उपलब्धि गुम्ने हो कि भन्ने खतरा देखिएको पनि बताउनुभयो ।

अध्यक्षले भन्नुभयो, ‘तपाईहरुले रेकर्ड हेरे हुन्छ, सबैभन्दा बढी अन्तर्क्रिया यस क्षेत्रमा मैले गर्ने कोसिस गरेँ ।’ सुदूरपश्चिम विश्वविद्यालय निर्माण गर्ने र शिक्षा क्षेत्रलाई विस्तारै हबको क्षेत्रमा आफूले पहल गरेको भन्दै त्यसले मूर्त रुप लिएको उहाँको भनाई थियो । लोकतान्त्रीक समाजको परिकल्पनालाई पूरा गर्नका लागि नीजि क्षेत्रलाई ढुक्कसँग लगानी गर्ने वातावरण र लगानी सुरक्षित हुने वातावरण सरकारले बनाउनपर्ने उहाँको जोड थियो ।

कात्तिक ८, २०८१ शुक्रबार ४:९:५१