‘संघीयता र गणतन्त्र उल्ट्याउन कोशिस हुँदैछ’—प्रचण्ड

पौष ५, सुर्खेत । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मान्यता उल्ट्याउने कोशिस भइरहेको बताउनु भएको छ ।
सोमबार माओवादी केन्द्रले सुर्खेतमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो, ‘माओवादी आन्दोलन केही कमजोर भएपछि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी मान्यताजस्ता परिवर्तनका मुद्दा उल्टाउने कोशिस भइरहेको छ । बुर्जुवा र प्रतिक्रियावादी शक्तिलाई परिवर्तन पचेकै छैन । प्रतिपक्षका कतिपय नेताहरु राजतन्त्र र २०४७ सालकै संविधान ठीक थियो भन्ने ठाउँमा आएका छन् । गणतन्त्र र संघीयता उल्टिँदा माओवादी आन्दोलनको औचित्य समाप्त हुन्छ । परिवर्तनका मुद्दा जोगााउन माओवादी धाराहरुको एकता अनिवार्य छ ।’
गणतन्त्र जोगाउन माओवादी एकतामा जोड दिँदै प्रचण्डले भन्नुभयो, ‘हामीले दश माओवादी घटकसँग एकता गरेका छौं । तर, माओवादी एकता अभियान पुरा भएको छैन । अहिले पनि विभिन्न धारामा रहेका माओवादीहरुसँग एकताको प्रयत्न जारी छ । मैले सबैसँग निरन्तर कुराकानी गरिरहेको छु । पहिले हामीले पार्टीको एकतालाई मजभूत बनाऔं, अनि सबै माओवादी धारालाई एकतावद्ध गर्न सबैले पहल गरौं । हामीले प्रष्ट रुपमा बुझ्नुपर्छ, माओवादीको एकता अभियान अहिले पनि जारी छ ।’
माओवादी केन्द्रको आगामी योजनाबारे प्रशिक्षित गर्दै प्रचण्डले भन्नुभयो, ‘हामीले पार्टीको पोलिट्ब्यूरोमा छलफल गरेर अभियान निर्धारण गरेका छौं, अब सिङ्गो पार्टी अभियानमा जान्छ । गाउँदेखि जिल्ला सम्मेलन हुँदै हामी महाधिवेशनमा जान्छौं । पार्टीलाई तलबाट निर्वाचित र रुपान्तरित गर्दै निर्वाचनमा जानुको बिकल्प छैन । हामीले त्यहीअनुरुप संगठनात्मक कार्यविधि बनाउँदै छौं । अब हामी नयाँ ढंगको निर्वाचित कमिटी बनाएर एक नम्वरको पार्टी बनाउन अभियानमा होमिन्छौं ।’
संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पूनर्निर्माण र समृद्धि सरकारका मूख्य प्राथमिकता भएकोमा जोड दिँदै प्रचण्डले भन्नुभयो, सरकार आफ्ना प्राथमिकतामा स्पष्ट छ । संविधान कार्यान्वयन, पूनर्निर्माण, सन्तुलित विदेश नीति, वैदेशिक रोजगारीमा गएका नेपालीहरुका समस्या समाधानमा सरकार निरन्तर क्रियाशील छ । सरकारले गरीबका लागि सरकार, जनता पेन्सनजस्ता महत्वपूर्ण कार्यक्रम ल्याउँदैछ । यो सरकारले जनताको हितलाई केन्द्रमा राखेर अन्तिमसम्म काम गर्नेछ ।’
संविधान संशोधन प्रस्तावबारे बोल्दै प्रचण्डले भन्नुभयो, ‘संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । तर, त्यो माओवादीको प्रस्ताव होइन, बरु विगतमा एमालेले अघि सारेको र कांग्रेसले समर्थन गरेको प्रस्ताव हो । मेरो एक मात्रै चाहना हिमाल, पहाड र तराईलाई मिलाएर संविधान कार्यान्वयन गर्नु नै हो । कोही यसको विपक्षमा उभिन्छ र राष्ट्रिय एकता चाहँदैन भने सिधै बुभ्mदा हुन्छ, त्यहाँ राष्ट्रवादको नाममा देशलाई बिखण्डन गर्ने राष्ट्रघातको नियत लुकेको छ । यसले देशको हित गर्दैन ।’
प्रशिक्षण कार्यक्रममा बोल्दै माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संविधानमा संस्थागत गरिएका परिवर्तनका मुद्दा कार्यान्वयनका लागि एकतावद्ध भएर जनतामा जान नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रशिक्षणमा माओवादी केन्द्रका अर्का बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले बलियो संगठनका आधारमा स्थानीय निर्वाचनमा विजयको तयारी गर्न आग्रह गर्नुभयो ।
प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका नेताहरु शक्तिबहादुर बस्नेत, जोखबहादुर महरा, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा ने.क.पा. (माओवादी) परित्याग गरी मोहन बहादुर केसी लगायत दर्जनौं नेता, कार्यकर्ता ने.क.पा. (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।

कात्तिक ८, २०८१ बिहीबार १०:१३:३१