संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने जिम्मा युवाकाे हाे : अध्यक्ष प्रचण्ड

काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षालाई अघि बढाउने जिम्मा अब युवाहरूकाे काँधमा आएकाे बताउनुभएकाे छ ।

उहाँले देशको सम्पूर्ण जनता र अरु सबै पार्टीलाई सहकार्य गर्नु आफ्नो दायित्व भएको बताउनुभएकाे छ । योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको राष्ट्रिय भेलामा अध्यक्ष प्रचण्डले समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक रहेको बताउनुभयाे । पाँच दलीय गठबन्धन ठुलो मेहनतबाट आर्जेको भन्दै प्रचण्डले यसलाई जोगाउनु आफ्नो कर्तब्य हुने उहाँकाे भनाइ थियाे । 

उहाँले एकता गरेर ओलिबाट ठुलो ज्ञान प्राप्त गरेको समेत उल्लेख गर्दै त्यो ज्ञान भनेको तमासुक गर्दा समेत ओलीले ठगी धन्दा गरेको बताउनुभयाे । अध्यक्ष प्रचण्डले अब संविधान, लोकतन्त्र र राष्ट्रियतामा सम्झौता नगरी रक्षाको लागि पूर्ण प्रतिबध्द भई गठबन्धन लाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयाे । 

उहाँले समाजवादको नेतृत्व गर्नेगरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयाे। माओवादी केन्द्रले युवालाई नेतृत्वमा ल्याउन पार्टी विधानमै सबै कमिटीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयाे। आफूले केही समयपछि उपयुक्त नेतृत्वलाई पार्टी नेतृत्वको जिम्मा दिई संस्मरण लेख्न चाहेको बताउनुहुँदै युवाको नेतृत्व विकास गर्न आफू लागिरहेको उहाँको भनाइ थियो।

ठूलो मेहेनतले अहिलेको सत्तारुढ पाँच दलको गठबन्धन बनेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘यो गठबन्धनलाई रक्षा र सुदृढ गर्नु अहिलेको आवश्यकता हो,’ उहाँले अगाडि थप्नुभयाे, ‘अब सबै चुनौती सकियो भन्ने छैन, गठबन्धनलाई भत्काउने, पुरानै दिशातर्फ लैजाने प्रयास भइरहेको छ। यसतर्फ युवा सचेत हुन आवश्यक छ।’ अर्को प्रसंगमा उनले विज्ञान प्रविधिको उच्चतम रूप प्रयोग गरी भेला गर्न सफल भएकामा वाइसिएललाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयाे ।

कात्तिक ७, २०८१ बुधबार ११:२०:२८