संविधान संशोधन प्रस्ताव फिर्ता हुँदैन, ‘प्रधानमन्त्री’

मंसीर २९, लाहान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारद्वारा व्यवस्थापिका–संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताउनु भएको छ ।
बुधबार दिउँसो लाहनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकारको गोल निर्वाचनमार्फत् संविधान कार्यान्वयन नै हो । संविधान कार्यान्वयनको वातावरणका लागि सरकारले संविधान संशोधनको प्रक्रिया सुरु गरेको छ । हिमाल, पहाड र तराई मिलाएर राष्ट्रिय एकता कायम गर्न अघि सारिएको प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन । प्रस्ताव फिर्ता होला कि भन्ने आशंका नराख्दा हुन्छ ।’
सरकार संसदमा दर्ता गरेको प्रस्ताव पारित गराउने तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले थप्नुभयो, ‘प्रस्ताव फिर्ता हुँदैन । संशोधन प्रस्ताव पारित गरेर निर्वाचनमा जानुको बिकल्प छैन । तर, संसदीय प्रक्रियाबाटै प्रस्तावमा केही हेरफेर वा परिमार्जन गर्न सकिन्छ । यसका लागि सरकार आवश्यक लचकता प्रदर्शन गर्न तयार छ ।’
स्थानीय निर्वाचनको बिकल्प नभएकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान कार्यान्वयनका लागि तत्कालै स्थानीय निर्वाचनमा जानुको बिकल्प छैन । हामी छलफलमै छौं, स्थानीय तहको निर्वाचन गर्ने कि पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गर्ने भन्ने टुंगो केही दिनमा लाग्छ । तर, अब निर्वाचनमा जाने कुरामा बिलम्व गर्न सकिँदैन ।’
पत्रकार भेटघाटमा प्रधानमन्त्रीले मधेशको विकासप्रति सरकार संवदेनशील रहेको बताउँदै सिरहा–५ को निर्वाचन क्षेत्र विकास कोषको बजेट सहमतिमै बिनियोजन गरिएको जानकारी दिनुभयो ।
तराई–मधेश भ्रमणका क्रममा बुधबार नै प्रधानमन्त्रीले ढल्केबरको सव–स्टेशन ट्रान्समिसन लाइनको स्थलगत निरीक्षण गर्नुभएको छ । उर्जामन्त्री जनार्दन शर्मा, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित ढल्केबर पुग्नुभएका प्रधानमन्त्रीले समयभित्रै आयोजना सम्पन्न गर्न आयोजना प्रमूख र कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

कात्तिक ७, २०८१ बुधबार २३:४६:३८