संविधान संशोधन विद्येयक अगाडि बढ्छ, ‘प्रचण्ड’

असार २६, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक प्रक्रियामा अगाडि बढ्ने बताउनु भएको छ ।
सोमबार बिहान माओवादी केन्द्र संसदीय बोर्डको बैठकमा बोल्दै प्रचण्डले विद्येयक अगाडि बढ्ने बताउनु भएको हो । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रचण्डले भन्नुभयो, ‘संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने हाम्रो उद्धेश्य हो । अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विद्येयक अब प्रक्रियामा अगाडि बढ्छ । संशोधन विद्येयकलाई निर्णयार्थ पेश गरेर राजपा लगायतका असन्तुष्ट दललाई पनि निर्वाचनमा ल्याउनुको बिकल्प छैन । हामीले जिम्मेवारपूर्ण भूमिका खेल्न सकेनौं भने असन्तुष्टीमा खेल्ने तत्वले फाइदा उठाउन सक्छन् ।’
बैठकमा प्रचण्डले संविधानको कार्यान्वयन र निर्वाचनका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । बैठकमा अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको रिक्त सभापतिको उम्मेदवारी र अन्य समितिमा रिक्त सदस्यहरुको पदपूर्तिका विषयमा पनि छलफल भएको थियो । श्रम समितिको सभापतिको उम्मेदवारी र समितिका सदस्यहरुको पदपूर्तिका लागि बैठकले आफ्नो सुझाव दिएको र त्यसबारे अन्तिम निर्णय पार्टी हेर्डक्वार्टर बैठकले गर्ने माओवादी केन्द्र संसदीय दलका प्रमूख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ११:२२:४४