संविधानको इमान्दार कार्यान्वयनका लागि दबाब नदिए मुलुक प्रतिगमनतर्फ जान्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सबै समुदायले सचेत भएर संविधानको इमान्दार कार्यान्वयनका लागि दबाब नदिए मुलुक प्रतिगमनतर्फ जाने बताउनु भएको छ । उहाँले संविधानको इमान्दारिताका साथ कार्यान्वयनका लागि दवाव सिर्जना गर्न सबै समुदायलाई आग्रह पनि गर्नुभयो ।

मंगलबार राजधानीमा आयोजित ‘जातीय भेदभाव तथा छुवाछुतसम्बन्धि कानूनको प्रभावकारी कार्यान्वयनको अवस्था ’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सिद्धान्त र आदर्शका कुरा गर्ने पार्टीहरू भित्र पनि सामन्ती संस्कार विद्यमान रहेकाले पार्टीहरू भित्रै पनि दलित जनप्रतिनिधिहरू विरुद्ध भेदभावको अवस्था देखिनु दुःखद् रहेको बताउनुभयो । त्यसको अन्त्यका लागि पार्टी र सरकार दुबैमा उजुरी दिन पनि पार्टीका नेता र कार्यकर्तालाई अध्यक्षले निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान राजनैतिक उपलब्धिमा दलित समुदायको निकै महत्वपूर्ण योगदान रहेको छ । विशेष गरेर दलित महिला समुदायको विद्रोहले जनयुद्धमा उर्जा भर्ने काम गरेको थियो ।’
उहाँले जनयुद्धको समयमा दलित मुक्तिको प्रश्नले स्पष्ट दिशा लिन थालेको र उक्त समयावधिमा भएका धेरै जसो अन्तरजातीय विवाहहरूले जातीय विभेद मेटिने आशा गरिएको भएपनि त्यस्ता परिवारहरू विघटित हुँदै जानु र दलितहरूको अवस्था पूर्ववत स्थितिमा फर्किनु चिन्ताजनक रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले कानूनमा उल्लेख भैसक्दा पनि व्यवहारमा दलितविरुद्धको विभेद र छुवाछुत अन्त्य नहुनु आफैंमा राम्रो नभएको बताउनुभयो ।

२००७ सालदेखि नै पछाडि पारिएकाहरूले अग्रगमनका निम्ति बलिदान दिने र परिवर्तनपछि बिस्तारै पुरानै वर्ग हावी हुँदै पहिले पछाडि पारिएको वर्ग र समुदाय फेरि सीमान्तीकृत हुँदै जाने प्रवृत्ति देखा परेको अध्यक्ष प्रचण्डको जिकिर थियो ।

ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको इमान्दार कार्यान्वयनका लागि हरेकले जागरण अभियान संचालन गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाई थियो ।

कात्तिक ८, २०८१ बिहीबार १६:५:४७