‘संविधानको रक्षकबाटै संविधान मिच्ने काम भयो’ (भिडियो)

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षकबाटै संविधान मिच्ने काम भएको बताउनुभएको छ । राजधानीमा शुक्रबार आयोजित अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीले आमकिसान, मजदुर, सुकुमबासी, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरुक गरिराख्ने, संगठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौँ भने कुनै पनि दिन प्रतिगमन हुन सक्ने खतरा छ।”

अध्यक्षले पछिल्लो पटक टीआरसी विधेयक असफल पार्ने कसरत र नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले त्यो देखाएको बताउनुभयो । गत सालदेखिनै प्रतिगमन नयाँ–नयाँ स्वरूपमा आइरहेको उल्लेख गर्नुहुँदै अध्यक्षले कुनै दिनमा प्रतिगमन हुने अझै खतरा रहेको बताउनुभयो ।

अध्यक्षले भन्नुभयो, “‘संविधानको पालक र संरक्षकबाट जानिबुझी संविधान खुलेआम मिच्ने काम भएको छ। यो सामान्य होइन। हजारौंको बलिदानबाट, लाखौंलाख किसान, मजदुर, उत्पीडितको आन्दोलनका उपलब्धि खोस्ने प्रयास भएको छ।” उहाँले नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध सबै किसान एकजुट भएर अभियान नै सञ्चालन गर्न आग्रह गर्नुभयो।

असोज ४, २०८१ शुक्रबार २२:२९:३