सचिवालय बैठकमा नेताहरुद्वारा चुनावको समीक्षा

साउन ३, काठमाडौं । सोमबारबाट जारी माओवादी केन्द्रको सचिवालय बैठकको दोस्रो दिन पनि नेताहरुले स्थानीय तहको निर्वाचनको समीक्षा रिपोर्ट प्रस्तुत गर्नुभएको छ । मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा नेताहरुले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्ट प्रस्तुत गर्नुभएको हो ।
मंगलबारको बैठकमा हेडक्वार्टर सदस्य तथा गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, नेताहरु उर्मिला अर्याल, रामराज रेग्मी, टेकबहादुर बस्नेत, जगप्रसाद शर्मा, गजेन्द्र बहादुर महत, गोपाल किराँती, जीवन बुढा, रामदिप आचार्य, पूर्णाकुमारी सुवेदी, मानबहादुर धामी, सुनिता यादव, रमेश मल्ल, लिलाबहादुर थापा, कमला रोका, देवेन्द्र श्रेष्ठ, प्रह्लाद बुढाथोकी, डिलाराम आचार्य, दधिराम न्यौपाने, देवी खड्का, बलराम तिमिल्सिना, युवराज चौलागाई, धावा लामा, पुष्पबिक्रम मल्ल, त्रिलोचन भट्ट, सहदेव बोगटी, नरेन्द्र कुंवर, नरबहादुर बिष्ट, गोपाल ठाकुर, खगेन्द्र रोकाय र दिपेन्द्र पुन गरी ३१ जना नेताहरुले चुनावी रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।
चुनावी समीक्षा गर्दै नेताहरुले बलियो संगठन निर्माणमा ध्यान नपुग्नु नै निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसक्नुको मूख्य कारण भएको रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । साथै नेताहरुले पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका कामहरुको जनस्तरमा संम्प्रेषणमा कमि, पार्टीमा सुदृढ वैचारिक र संगठनात्मक एकताको कमि, निर्वाचनको तयारीमा आवश्यक ध्यान नपुग्नु, कमजोर जनसम्बन्ध जस्ता कारण निर्वाचनमा अपेक्षित सफलता प्राप्त नभएको रिपोर्ट प्रस्तुत गर्दै पार्टी पूनर्निर्माणमा जोड दिनुभएको थियो ।
सचिवालय बैठक बुधबार दिउँसो पुनः बस्नेछ । जारी बैठकमा निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी र पार्टीको संगठनात्मक एजेण्डामा छलफल चलिरहेको छ ।

कात्तिक ७, २०८१ बिहीबार ४:२३:४४