सबै संस्कृति हाम्रा राष्ट्रिय सम्पत्ति हुन्: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताउनुभएकाे छ । तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा एक शुभकामना दिँदै प्रधानमन्त्रीले सबै जाति-जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताउनुभयाे ।

‘सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो’, उहाँले भन्नुभएकाे छ ।

नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेपछि धर्मनिरपेक्ष, समानुपातिक समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको उहाँको भनाइ छ । ‘यसका लागि तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्याङ्कन र प्रशंसा गर्न चाहन्छु’, उहाँले भन्नुभयाे ।

प्रधानमन्त्री प्रचण्डले ल्होछारको अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ ।

नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको सङ्गमस्थल भएको भन्दै उहाँले नेपालमा एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताउनुभयाे ।

‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरुआत गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो’, प्रधानमन्त्रीद्वारा जारी शुभकामनामा भनिएको छ ।

‘यही पद्धति अँगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरु हुन्छ भन्ने मान्दछ । कृषिको थालनीसँगै विकास भएकाले यो पर्वलाई सोनाम (किसानको) ल्होछार पनि भन्ने गरिन्छ ।

ल्होछार नेपालमा मात्र नभइ चीन, मङ्गोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिङ्गापुरलगायतका मङ्गोल(चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशमा मनाइन्छ ।

विश्वका विभिन्न मुलुकमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ सङ्घसंस्थाले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन् । तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ ।

प्रधानमन्त्रीको शुभकामनामा भनिएको छ, ‘ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । राज्यले ल्होछारलगायत सबै सांस्कृतिक पर्वलाई राष्ट्रिय संस्कृतिको प्रवर्द्धन गर्नुपर्दछ ।’

शुभकामना सन्देश

तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व –२८५९ ह्योई÷तावर ल्हो (खरायो वर्ष) को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेको छ र अहिले हामी धर्मनिरपेक्ष, समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । यो आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा गर्न चाहन्छु ।

नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो । यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन् । यहाँ बसोबास गर्ने सबै जाति÷जातजातिको आ—आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो ।
नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको शुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो । यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ । कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानहरूको) ल्होछार पनि भन्दछन् ।

नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाईल्याण्ड, ताईवान, मलेसिया, सिंगापुर लगायतका मंगोल—चिनिया सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइन्छ । आज नै कामको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ संघ÷संस्थाहरुले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन् । तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ ।

ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एबम् बैज्ञानिक महत्व बोकेको थुप्रै पर्व छन् । तसर्थ राज्यले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरूलाई राष्ट्रिय संस्कृतिको प्रवद्र्धन गर्नुपर्दछ । अन्तमा, फेरि पनि सोनाम ल्होछारले समस्त नेपालीहरूमा आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकता कायम गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।

८ माघ २०७९
पुष्पकमल दाहाल प्रचण्ड
प्रधानमन्त्री

असोज ३, २०८१ शुक्रबार ३:३७:२६