‘समाजवाद ल्याउन र निर्वाचन प्रणाली बदल्न सडकमा जानुको विकल्प छैन’ (भिडियो)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र शासन प्रणाली बदल्न आगामी चुनावपछि आफू सडकमा जाने उद्घोष गर्नुभएको छ । उहाँले भन्नुभयो, “चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु, प्रचण्डले भन्नुभयोे, “सडकबाट मात्रै संविधानमा हामीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न र यो मेसिनरी बदल्न जनताको बीचमा जानुको विकल्प छैन ।”

माक्र्सवादी ज्ञान केन्द्रले आइतबार काठमाडौंमा आयोजना गरेको ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा अध्यक्ष प्रचण्डले भन्नुभयो, “अहिले भ्रष्टाचारको कुरा गरेका छौं। विकृति विसंगतिको कुरा गरेका छौं। हामी कहाँ जस्तो मेसिन छ । त्यो मेसिनले उत्पादन गर्ने बस्तु मेसिन अनुसारको हुन्छ । मेसिन बेठीक राख्ने र त्यसबाट उत्पादित गर्ने बस्तु राम्रो खोज्ने त्यो हुन सक्दैन। समस्या मेसिनमा छ । तपाइले अहिलेको निर्वाचन प्रणालीलाई कायमै राख्ने । भ्रष्टाचार मुक्त समाजको कल्पना गर्नुभयो भने त्यो सम्भव छैन । यो निर्वाचन प्रणाली बदल्नै पर्छ । यो निर्वाचन प्रणालीले दलाल पुँजीवाद र भ्रष्टिकरणलाई नै अगाडि ल्याउँछ ।”

उहाँले समाजवादको बनिबनाउ मोडेल नरहेको बताउनुहुँदै समाजवाद बदलिँदो परिस्थिति अनुसार समाज र आन्दोलनका यात्रीहरूले अनुसन्धान गर्नुपर्ने विषय भएको बताउनुभयो । परिस्थितिको ठोस अध्ययन नगरी समाजवाद ल्याउने कुरा कल्पना मात्र हुने उहाँको भनाई छ । अध्यक्षले भन्नुभयो, “अनुसन्धान गर्दा समकालीन परिस्थितिको आकलन शक्ति सन्तुलन, उत्पादक शक्ति र उत्पादन सम्बन्धनको स्थिति, विज्ञान प्रविधिको विकाशको स्थिति सबैको कुल योगफलबाट एउटा प्रष्ट वैचारिक राजनीतिक मार्गचित्र बिना समाजवादको नयाँ मार्गचित्र बन्न सक्दैन ।”

अध्यक्ष प्रचण्डले समाजवादको यात्रा प्रारम्भ गर्नको निमित्त अहिलेसम्म भएका क्रान्ति प्रतिक्रान्ति र प्रयोगहरू, सबै मोडलहरू, सफलता र असफलता र विज्ञानले गरेका आविष्कार, तिनको महत्व र मानव समाजमा परेको प्रभावको सुव्यवस्थित तर्कसंगत व्याख्या आवश्यक रहेको बताउनुभयो ।

समाजवाद दिशामा अगाडि बढ्न आफूले गरेको पछिल्लो प्रयास असफल रहेको पनि उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले अगाडि भन्नुभयो, “कम्युनिष्टहरुलाई एक ठाउँमा राख्ने, बलियो शक्ति निर्माण गर्ने, समाजवादको ठोस कार्य योजनासहित उत्पादन वृद्धि, श्रम र सांस्कृतिक रूपान्तरण जगैदेखि, स्थानीय तहदेखि एउटा नयाँ आन्दोलन सृष्टि गर्ने मेरो दिमागमा थियो । मैले जति बेला माओवादी केन्द्रको अध्यक्षको हैसियतले वाम गठबन्धन गरौं। कम्युनिष्ट एकता गरौं । देशमा वामपन्थी जनमत धेरै ठूलो छ। हामीले देशमा राजनीतिक स्थायित्व पनि र समाजवादको महान यात्रातिर जान सकिन्छ । बौद्ध भिक्षु रहेसम्म घण्टी बजाउने जस्तो तरिकाले हामी कहीँ पनि पुग्दैनौं । हामी पूर्वाग्रह छोडिदिऊ। हामी एक चोटि हामफालौं मैले भनेको हुँ । त्यो स्वतः, स्फूर्त रुपमा भएको होइन। सचेततापूर्वक गरिएको हो। सफल भएन। सफल हुन दिइएन ।”

कात्तिक ७, २०८१ बुधबार १२:५:४