समाजवादका लागि विचारधारात्मक स्पष्टता र एकताको चुनौति छः अध्यक्ष प्रचण्ड (भिडियो)

ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादका लागि विचारधारात्मक स्पष्टता र एकताको चुनौति रहेको बताउनुभएको छ । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसलाई विचारको विकासको चुनौति पनि भन्नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “मार्क्सको विचारलाई यान्त्रिक ढंगले ग्रहण गरेर अगाडि बढेको भए लेनिनलाई अक्टुबर क्रान्ति गर्न सम्भव थिएन । लेनिनको कुरालाई अन्धानुकरण गरेको भए चिनियाँ क्रान्ति वा अरु क्रान्ति पनि सम्भव थिएन ।”

अध्यक्षले विगतका क्रान्ति र प्रतिक्रान्तिको वैज्ञानिक संश्लेणको आवश्यकता रहेको बताउनुभयो । अहिले एकाधिकार पूँजीवाद दार्शनीक र सैद्धान्तिक रुपमा नवउदारवादको जामा पहिरिएको र आर्थिक रुपमा वित्तिय एकाधिकार भूमण्डलीकृत पूँजीवादको रुपमा त्यो व्यक्त भएको अवस्थामा रहेको उहाँको भनाई थियो ।

एकअर्को प्रसंगमा उहाँले कम्युनिस्टहरु बिग्रेपछि सबैभन्दा नराम्रा हुने भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली संविधान विरोधी प्रतिक्रियावादी, संविधान विरोधी देखिएकाले बाध्य भएर सच्याई जनताका सामु ल्याउनु परेको बताउनुभयो । अध्यक्षले ओलीले अहिले जोसँग पनि नेकपा कालको १९ पृष्ठ लामो फरक दस्तावेजको कुरा गर्ने गरेको भन्दै त्यो परिस्थितिको उपज भएको उल्लेख गर्नुभयो ।

नेपालको शोधनान्तर घाटाको सुरुवात तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको र त्यसमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले गरेको उहाँको धारणा थियो । “शोधनान्तर घाटाको जन्मदाता, प्रणेता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा हो,” अध्यक्ष प्रचण्डले भन्नुभयो, “मुलुकमा भित्रिनेभन्दा मुलुकबाट बाहिरिने रकम बढी हुँदा शोधनान्तर घाटा हुन्छ । नेपाल राष्ट्र बैंकका अनुसार यस आर्थिक वर्षको पहिलो १० महिनामा २ खर्ब ८८ अर्ब मुलुकको शोधनान्तर घाटा छ ।” अध्यक्ष प्रचण्डले नेपालमा विदेशी मुद्राको कमी, वैदेशिक व्यापार घाटा लगायतको सुरुवात ओली सरकारको पालामा भएको पनि बताउनुभयो ।

उहाँले देश सुशासान र भष्टाचार विहिनता तर्फ जाला विकास र संबृद्धिमा जाला भनेर कम्युनिष्ट एकता गरिएको तर सफल हुन नसकिएको बताउनुहुँदै सहमति सहकार्य सुन्ने नचाहने र भष्ट्राचारको पराकाष्टा नै भएपछि र परिर्वतनका उपलब्धिहरु नष्ट गर्न खोजेका कारण त्यसको नेकपामा समस्या पैदा भएको बताउनुभयो।

कात्तिक ७, २०८१ बिहीबार ४:१६:५१