समाजवादको मूल कडी वर्ग संघर्ष नै होः अध्यक्ष प्रचण्ड

काठमाडौं, २ फागुन । अध्यक्ष प्रचण्डले समाजवादको मूल कडी भनेको वर्ग संघर्ष नै भएको बताउनु भएको छ ।  उहाँले वर्ग संघर्ष समाजवादको यात्रामा बिर्सन नहुने कुरा भएको बताउनु भयो । पार्टी केन्द्रीय कार्यालयमा आइतवार जातीय–क्षेत्रीय मोर्चा समन्वय समितिद्वारा आयोजित प्रदेश स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्षले भन्नुभयो, ‘समाजवादी व्यवस्था भनेको सामाजिक न्याय सहितको आर्थिक समृद्धि हो ।’ अध्यक्षले सो अवसरमा वैचारिक र सांगठनीक एकताले पार्टी मजबुत हुने बताउनु भयो । सबै माओवादी एक भए जनता पनि माओवादीप्रति एक हुने उहाँको धारणा थियो ।

संविधान बनेपछि पार्टी नेतृत्वले लिएको पहलकदमीबाट देशभर एमाओवादीमा नयाँ रक्त सञ्चार पैदा भएको र अझै माओवादीप्रति जनतामा लहर ल्याउन बाँकी रहेको उहाँको भनाई थियो । उहाँले राजनीति भन्दा बाहिर कसैको पनि जीवन नभएको बताउँदै भन्नुभयो, ‘देशभरमा पार्टीमा अहिले एकले अर्कालाई माया गर्न थालेको देखिएको छ ।’

अध्यक्ष प्रचण्डले, ‘राजनीतिमा लिएको पहलकदमीले जनतामा आशा जगाई दिएको छ, त्यसलाई संगठनमा रुपान्तरण गर्नुपर्छ भन्नुभयो, ‘अहिले सरकारमा पहल आएको छ । राष्ट्रको नेतृत्व गर्ने अब माओवादीले नै हो । जनताले पनि एमाओवादीलाई नै राजनीतिक शक्तिका रुपमा लिएको छ ।’

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र हो कुनै सन्धी र सम्झौता गर्न होइन ।’  वर्तमान सरकारमा पनि मन्त्रीहरुले जनताका पक्षमा काम अघि बढाईरहेको उहाँको भनाई थियो ।

अध्यक्षले अर्को एक प्रसंगमा आफ्नो पार्टीले उठाएका जनताका जातीय अधिकारका मुद्धाहरु फटाहाहरुले भन्न थालेको बताउनु भयो । मधेशका जनताको वास्तविक मुक्तिको अधिकार एमाओवादीले मात्र गर्ने उहाँको धारणा थियो । अध्यक्ष प्रचण्डले तराईमा भ्रम पारेर आफ्नो स्वार्थसिद्ध मात्र गर्न खोजेको बताउनु भयो ।

कात्तिक ६, २०८१ बुधबार २:३१:१७