समृद्ध चितवन र नेपाल मेरो परिकल्पना हो, प्रचण्ड

कार्तिक १९, काठमाडौं । पूर्व प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का उम्मेद्वार प्रचण्डले समृद्ध चितवन र नेपालको परिकल्पनासहित आफूले चितवन ३ बाट उम्मेद्वारी दिएको बताउनु भएको छ ।
आइतबार दिउँसो चितवनको गंगानगरमा आयोजित प्रचण्ड विजय अभियान कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले भन्नुभयो, “मलाई धेरै जिल्लाका साथीहरुले हाम्रो जिल्लाबाट चुनाव लड्नुपर्यो भनेर अनुरोध गर्नुभएको थियो । तर, मैले यसपटक चितवनबाटै चुनाव लड्ने अठोटका साथ आएको छु । म चुनाव जित्न मात्रै चितवन आएको होइन, चितवनको समृद्धिमार्फत् देशमा एउटा नयाँ सन्देश दिन र देशको नेतृत्व लिन तपाईहरुको बीचमा आएको छु ।”
“अब चितवनका सबै सडकहरु कालोपत्रे हुनेछन्, चितवनका सुकुम्बासीका समस्या समाधानका लागि बैकल्पिक व्यवस्था गरिनेछ” अध्यक्ष प्रचण्डले भन्नुभयो, “जंगली जनावरको आतंकलाई नियन्त्रण गर्न, नारायणी र राप्तीमा तटबन्ध गर्न, सबै सडकहरुलाई कालोपत्रे गर्न हामीले विशेष पहल गर्नेछौं । नारायणी र राप्तीमा तटबन्ध गरी रिङ्गरोड बनाएर चितवनको पर्यटकीय विकास गरिनेछ । पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युतका सम्भावनाहरुलाई प्रचुर मात्रामा प्रयोग गरिनेछ । समृद्ध चितवनको निर्माण हाम्रो सपना हो ।”
कार्यक्रममा एमाले नेता देवी ज्ञवालीले राष्ट्रिय स्वार्थसामू व्यक्तिगत स्वार्थ प्रमूख हुन नसक्ने बताउनु भयो । नेता ज्ञवालीले भन्नुभयो, “कतिपयले मलाई अस्तिको कुरा बिर्सिस् भनेर सोध्नुहुन्छ । हो मैले अस्तिको कुरा बिर्सें । राष्ट्रिय हितका सामू मेरो व्यक्तिगत स्वार्थ ठूलो हुन सक्दैन । नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने सपना सार्थक पार्न प्रचण्डको जीत अनिवार्य छ ।”
कार्यक्रममा शनिबार माओवादी प्रवेश गर्नुभएका राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले प्रचण्डको विजयका लागि आफू माओवादी केन्द्रमा आएको बताउनु भयो । उहाँले भन्नुभयो, “बरु प्रचण्डलाई चितवन जरुरी नपर्ला । तर, चितवनलाई प्रचण्ड जरुरी छ । मैले माटो मूठीमा लिएर चितवनको विकास सोचें, समृद्धि सोचें । प्रचण्डको जीतले मात्रै चितवनको विकास सम्भव देखेर माओवादी केन्द्रमा आएको छु । हामीले प्रचण्डलाई कम्तिमा २० हजारको मत अन्तरले विजय बनाएर देखाउने छौं ।”
कार्यक्रममा बाम गठबन्धनका चितवन ३ (क) का उम्मेदवार कृष्ण भूर्तेल, ३ (ख) का उम्मेद्वार रामलाल महतो लगायतका वक्ताहरुले राजनीतिक स्थिरता र विकासका लागि बामपन्थीहरुले जित्नैपर्ने बताउनु भयो । आइतबार नै चितवनको चनौली र चम्पानगरमा आयोजित कार्यक्रमलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभएको थियो ।
आइतबारका विभिन्न कार्यक्रममा नेपाली कांग्रेस र राप्रपा परित्याग गरी १०० भन्दा बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवनमा प्रचण्डको उम्मेद्वारीसँगै प्रचण्ड विजय अभियानमा सामेल हुनेहरुको संख्या ह्वात्तै बढेको छ ।

कात्तिक ७, २०८१ बुधबार ९:१५:६