प्रधानमन्त्रीबाट क्रिकेट र कराँते टोलीलाई बिदाई

श्रावण २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार साँझ प्रधानमन्त्रीको नीजि निवास बालुवाटारमा आईसिसी विश्व क्रिकेट लीग र एसियाली कराँते टोलीलाई खेलाडीहरुलाई छुट्टाछुट्टै कार्यक्रमका बीच बिदाई गर्नुभएको छ ।
बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खेल क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको भन्दै खुसी व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘क्रिकेट र कराँते क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गरेको छ, देशलाई आत्मविश्वास र भावनात्मक एकता कायम गर्न सफल हुनुभएकोमा म सम्पूर्ण खेलाडी मित्रहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’ सो अवसरमा प्रधानमन्त्रीले आफ्नो बालुवाटार प्रवेशपछिको पहिलो औपचारिक कार्यक्रम खेलाडीहरुसँग भएकाले खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीले प्रतियोगितामा नेपाली टिमको बिजय सम्पूर्ण नेपालीको विजय हुने भन्दै आफ्नो कार्यकाल खेलकुदको सुधार र विकासमा समर्पित गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । बिदाई कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालको विजयका लागि सम्पूर्ण टोली कटिवद्ध रहेको बताउनुभयो । बिदाई कार्यक्रममा नेपाल कराँते संघका महासचिव लगायतका प्रतिनिधिहरुले खेल क्षेत्रका समस्या र प्रतियोगिताको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
नेदरल्याण्डमा हुने आइसिसी वल्ड क्रिकेट लीगका लागि कप्तान पारस खड्का नेतृत्वको टोली शनिबार नेदरल्याण्ड प्रस्थान गर्दैछ । त्यसै गरी मलेसियमा हुने पाँचौं एसियाली कराँते प्रतियोगिताका लागि २९ जनाको टोली शनिबार नै मलेसिया प्रस्थान गर्दैछ ।

कात्तिक ७, २०८१ बुधबार १७:१९:९