(१) मैले पदबहाली गर्ने क्रममा ४५ दिनभित्र भूकम्प प्रभावित परिवारहरुलाई आवास पुनर्निर्माणका लागि पहिलो किस्ता रकम उपलव्ध गराउने एवं पुनर्निर्माण कार्यलाई शीघ्रातिशीघ्र कार्यान्वयन गर्ने गराउने, सबै प्राथमिक स्वास्थ्य केन्द्रहरुमा ३ महिनाभित्रमा चिकित्सक पठाउने, गरिबका लागि सरकार नामक विशेष अभियान सञ्चालन गर्ने, देशभरिका दलित र कर्णालीका नवजात शिशुहरुको जन्मदर्ता गर्न म्याद भित्रै आउने परिवारलाई प्रोत्साहनस्वरुप रु. १ हजार प्रोत्साहन भत्ता दिने निर्णय भएकोमा हालसम्म के कति प्रगति भयो ? नतिजा सहित अद्यावधिक विवरण मलाई चाहियो ।
(२) संविधानको प्रभावकारी कार्यान्वयन गर्न, शान्ति सम्झौताका बाँकी कार्य सम्पन्न गर्न, भूकम्प पश्चातको पुनर्निर्माणलाई गति दिन, बजार अनुगमन गरी सुलभ रुपमा उपभोक्ताहरुलाई वस्तु र सेवा बितरण हुने व्यवस्था गर्न, उर्जा संकट क्रमशः न्यूनीकरण गर्न, विकास निर्माणका कार्यलाई तीब्रता दिन र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन तथा सदाचार कायम गर्ने विषयलाई समेत समावेश गरी २०७३ साउन २३ गते दिएको २८ बुँदे निर्देशनको कार्यान्वयन अवस्थाको प्रगति के कति भयो ? परिणाम समेत देखिने गरी अद्यावधिक प्रगति विवरण मलाई उपलव्ध गराउनुहोस् ।
(३) व्यवस्थापिका संसदमा मैले २०७३ भदौ २३ गते जनताका नाममा विशेष सम्बोधन गर्दा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, भूकम्पपछिको पुननिर्माण र नवनिर्माणलाई तीव्रता दिने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने, सुशासन र सामाजिक न्याय कायम गर्ने, भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइमा सबैको पहुँच बढाउने, रोजगारी सिर्जना र आयस्तर वृद्धि गरी गरिबी निवारण गर्दै समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखी संवोधन गरेको थिएँ । मैले संबोधन गरेका विषयहरुको कार्यान्वयन अवस्था के कस्तो रहेको छ ? मलाई अद्यावधिक गर्नुहोस् ।
(४) मैले ’सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमका सन्दर्भमा सर्वसाधरण जनताले उठान गरेका गुनासाहरुलाई अभिलेखाङ्कन गरी मेरो कार्यालयले तिनीहरुको उचित कार्यान्वयनका लागि तपाईहरु कहाँ पठाउदै आएको छ । यस विषयमा हालसम्म के कति प्रगति भयो ? मलाई जानकारी गराउनुहोस्।
(५) प्रत्येक मन्त्रालय÷केन्द्रीय निकायहरुको समग्र कार्यसम्पादन झल्किने नतिजामूलक कार्यसम्पादन सूचकहरु निर्माण गरी नेतृत्व तहमा कार्यसम्पादन करार गर्ने, विभागीय प्रमुख/आयोजना प्रमुख/कार्यालय प्रमुखमा खटाउँदा कार्यसम्पादन करार गरेर मात्र खटाउने र उनीहरुको प्रगतिको आवधिक समीक्षा गरी न्यून कार्य सम्पादनस्तर भएका पदाधिकारीलाई जिम्मेवारीबाट हटाउने व्यवस्था कडाइका साथ लागु गर्ने भनी मेरो र मुख्यसचिवको तहबाट भएका निर्देशन कार्यान्वयन के कति भयो ? साथै जसले कार्यान्वयन गर्नुभयो त्यसको कार्यप्रगतिको अवस्था मलाई अवगत गराउनुहोस् ।
(६) गरिबका लागि सरकार विशेष अभियान कार्यक्रमलाई प्राथमिकतामा राखी हाल बजेटमा समावेश भएका कार्यक्रमहरु तत्काल कार्यान्वयनमा लैजाने र बजेटमा समावेश हुन नसकेका कार्यक्रमहरुको हकमा सम्वन्धित मन्त्रालयहरुले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग समन्वय गरी कार्यक्रम अगाडि बढाउनुहोस् । यसका लागि हाल सञ्चालनमा रहेका कार्यक्रमहरु एकीकृत रुपमा कार्यान्वयन हुन सकेको देखिएन । यी सञ्चालनमा रहेका कार्यक्रम र थप हुनुपर्ने कार्यक्रमहरुलाई एकीकृत गरी नतिजा आउने गरी कार्यान्वयन गर्नुहोस् ।
(७) नेपालको संविधानको अनुसूची ५, ६, ७, ८ र ९ मा उल्लिखित संघ, प्रदेश र स्थानीय तहको एकल तथा सहवर्ती अधिकार एवं संविधानको अन्य धाराहरुमा उल्लिखित कार्य जिम्मेवारीहरुको विस्तृतीकरण गरी तहगत विभाजन सहितको एकीकृत प्रतिवेदनको मस्यौदालाई अन्तिम रुप दिने काम भएको छ । यसलाई अविलम्व मेरो तहमा निर्णयका लागि प्रस्तुत गर्नुहोस् । सोअनुरुप भावी संगठन संरचना निर्माण, जनशक्ति व्यवस्थापन र तिनको समायोजन तथा सम्पत्ति र दायित्वको बाँडफाँड अब गर्नुपर्नेछ । यसको खाका यथाशीघ्र पेश गर्न तयार रहनुहोस् ।
(८) यस आर्थिक वर्षको बजेट आ.व. शुरु हुनुभन्दा अगावै पारित गरी कार्यान्वयनमा ल्याउँदा समेत प्रथम चौमासिकको अवधिमा पूँजीगत खर्च ५ प्रतिशतभन्दा न्यून रहनु र कूल खर्च १५ प्रतिशतको हाराहारीमा रहनु चिन्ताजनक अवस्था हो । यस पृष्ठभूमिमा विकास आयोजनाहरुको प्रगति अपेक्षित रुपले सन्तोषजनक हुन नसकेको हुँदा तपाइँहरुले कार्यक्रम कार्यान्वयन र अनुगमनमा तीव्रता ल्याउन के विशेष पहल गर्नुभयो र किन काम हुन सकेन मलाई जानकारी दिनुहोस् ।
(९) सार्वजनिक खर्चको प्रभावकारिता तथा उत्पादनशीलतामा विशेष ध्यान दिनुपर्नेछ । सार्वजनिक स्रोत र साधनको दुरुपयोग हुन नदिई अति उत्तम प्रयोग गर्नुछ । वित्तीय अनुशासनभित्र रही कार्य र क्रियाकलाप सञ्चालन गर्नुछ । यसमा तपाइँहरुले के कस्तो प्रयत्न गर्नुभयो । मलाई अवगत गराउनुहोस् ।
(१०) मेरो बारम्वारको प्रयत्नका बाबजुद पनि भूकम्प गएको डेढ वर्ष व्यतित हुँदा समेत यसको पुनर्निर्माण र पुनर्स्थापनाको कार्यले गति लिन नसकेको यथार्थ हाम्रोसामू छ । यो वर्षको पनि जाडो मौसम शुरु भइसकेको र अझैपनि लाखौ मानिसहरु अस्थायी टहरामा बस्नु परेको अवस्थाले मलाई अत्यन्तै संवेदनशील बनाएको छ । यो समस्यालाई तपाइँहरु कसरी छिटोभन्दा छिटो संवोधन गर्नु हुन्छ ? म शीघ्र परिणामको पर्खाइमा छु ।
(११) विगतका वर्षदेखि ठेक्कान लागेका ठूला सार्वजनिक निर्माण र बस्तु तथा सेवा खरिद कार्य समयमै सम्पन्न हुन नसकी अलपत्र परेको अवस्था मैले विभिन्न जिल्ला तथा आयोजनाको भ्रमणको क्रममा अवगत गरेँ । अव यो अवस्थाले निरन्तरता पाउनु हुँदैन । तसर्थ जे जुन प्रक्रिया अपनाउनु पर्छ वा कारवाही गर्नुपर्छ सो गरी आयोजनाहरु÷कार्यक्रमहरु सम्पन्नत गराउनुहोला । यसमा सचिवहरु स्वयमले नै मातहतका निकायबाट भए गरेका कामको अनुगमन गरी प्रगतिको सुनिश्चितता गर्नुहोला ।
(१२) मैले जिल्ला तथा विकास आयोजनाहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्ने क्रममा कतिपय निकायका आयोजनास्थलमा र जिल्लास्थित कार्यालयहरुमा कार्यालय प्रमुखहरु अनुपस्थित रहेको, लामो विदामा बसेको, गोष्ठी तथा सेमिनारको बहानामा पटकपटक केन्द्रमा नै बस्ने गरेको भन्ने जानकारी भएको र गुनासो आएकोले कर्मचारीहरु जिल्लामा एवं आयोजना स्थलमा खटाउने र बस्ने व्यवस्था मिलाउनुहोला ।
(१३) जिल्लाका कार्यालय प्रमुख र आयोजना प्रमुखहरुले स्वीकृति बिना कार्यस्थल नछोडने र १५ दिनभन्दा बढी कार्यालय वा आयोजनामा अनुपस्थित रहनुपर्ने अवस्थामा कार्यालय/आयोजना प्रमुखको वैकल्पिक व्यवस्था मिलाएर मात्र बिदा स्वीकृत गर्ने गर्नुहोला ।
(१४) राष्ट्रिय गौरवका आयोजना लगायतका मैले आयोजनाहरुमा निरीक्षण अनुगमन गर्दा दिएका निर्देशन कार्यान्वयन गरी निर्धारित समयमा आयोजना सम्पन्न गर्ने÷गराउने र निर्धारित समय अगावै आयोजना सम्पन्न् गराउने कार्यालय/आयोजनाका कर्मचारीहरु र निर्माण व्यवसायीहरुलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउनुहोस् ।
(१५) विकास निर्माणको काममा गुणस्तरीयता कायम नभएका कारण आयोजनाको प्रतिफल लामो समयसम्म प्राप्त हुन नसकेको अवस्थाको अन्त्य गर्नु जरुरी छ । तसर्थ विकास निर्माण कार्य सम्पन्नम गर्ने मात्र नभई सोको गुणस्तरीयता कायम गर्न समेत लाग्नुहोला । ठुला र प्राथमिकता प्राप्त आयोजनाहरुको अनिवार्य रुपमा प्राविधिक परीक्षण गराउने व्यवस्था गर्नुहोस् ।
(१६) मैले बिराटनगर जुटमिलको निरीक्षण पश्चात् यसलाई सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन निर्देशन गरेको छु । त्यसैगरी हेटौडा कपडा उद्योग, नेपाल औषधि लिमिटेड लगायतका उत्पादनशील तथा रोजगारमुलक उद्योगहरु सञ्चालनमा ल्याउन आवश्यक कार्ययोजना बनाएर शीघ्र काम गर्नुहोला ।
(१७) काठमाडौं उपत्यकाको सडक, ढल, खानेपानी, विद्युत, टलिफोन लगायतका भौतिक पूर्वाधारको व्यवस्थापन एवं मर्मत सुधारमा म स्वयम् र मेरो कार्यालय संलग्न हुनुपर्ने अवस्था आउनु निकै सोचनीय विषय हो । यसले हाम्रा मन्त्रालय र मातहतका निकायहरुको जिम्मेवारी र जवाफदेहिताको स्तर झल्कन्छ । अबआइन्दा यस्ता सामान्य विषयमा तल्ला तहका कार्यालय उदासिन रहने र माथिल्लो निकायले जिम्मा लिनुपर्ने वातावरणको अन्त्य गर्नुहोस् ।
(१८) हालसम्मको विकास खर्च अत्यन्त न्यून छ । कार्यक्रम स्वीकृत गराई जिल्ला जिल्लामा अख्तियारी समयमै पुर्याएर काम शुरु हुनुपर्नेमा किन के कारणले ढिलाई भएको हो । मैले घोषणा गरेअनुरुप पूजींगत खर्च न्यूनतम ८० प्रतिशत भन्दा बढी गर्न जे—जो गर्नुपर्ने हो सो गरी विकास निर्माणका काममा तीब्रता दिनुहुनेछ ।
(१९) बेरुजू फस्र्यौटको अवस्था लाजमर्दो छ । बेरुजू फस्र्यौटको कार्यलाई प्राथमिकतामा दिई तिव्रता दिनुहोस् ।
(२०) कर्मचारीहरुलाई समयपालना र नियमितता कार्यान्वयन गराउनका लागि सवै कार्यालयरुमा अनिवार्य रुपमा डिजिटल हाजिरी राख्ने व्यवस्था गर्नुहोस् र त्यसको पालना अनिवार्य रुपमा गराउने काम सचिवले गर्नुहोस् । सबै कर्मचारी दश बजे देखि पाँच बजेसम्म अनिवार्य रुपमा आफ्नो आफ्नो कार्यालयमा अनिवार्य रुपमा रही काम गरेकै हुनुपर्दछ । फिल्डमा खटिने कर्मचारी आफ्नो फिल्डमा रही गुणस्तरीय कार्यसम्पादन गर्ने व्यवस्था मिलाउनुहोस् ।
(२१) यो बमोजिम भए नभएको बारेमा केन्द्रमा राष्ट्रिय सर्तकता केन्द्र र सामान्य प्रशासन मन्त्रालयको समन्वयमा र स्थानीयस्तरमा जिल्ला प्रशासन कार्यालय बाट आवधिक रुपमा प्रभावकारी रुपमा छड्के परिपाटीको थालनी तत्काल गर्नुहोस ।
(२२) कर्मचारीहरुलाई स्पष्ट र मापनयोग्य सूचक सहितको कार्यविवरण दिने व्यवस्था गनुहोस् र सोहीबमोजिम कार्यसम्पादन संझौता गरी काम कारावही गर्ने गराउने र सोही आधारमा कर्मचारीका अलावा कार्यालयलाई पुरस्कृत गर्ने परिपाटी बसाल्नुहोस् । किनभने समूहको पुरस्कारवाट समूह नै उत्प्रेरित हुन सक्दछ ।
(२३) विशेष गरेर भवन डिभिजन, सडक डिभिजन, खानेपानी जस्ता विकास निर्माणसँग सम्बन्धित कार्यालयहरुमा प्राविधिक दक्ष जनशक्तिको दरवन्दी अत्यन्त न्यून भएका कारण कामकारवाही प्रभावकारी हुन नसेकेको भन्ने कुरा आइरहेको छ । हाल कायम रहेको जनशक्तिलाई अधिकतम् परिचालन गरी काम गराउनुहोस् । त्यसबाट पनि नपुग भएमा तत्काल करारमा लिएर भए पनि काम गर्ने व्यवस्था मिलाउनुहोस ।
(२४) गाउँ–गाउँमा रहेका तल्लातहका प्राविधिक जनशक्तिहरु विगतको समयबद्ध बढुवा (२४ घ १ को बढुवा) को प्रावधानले स्वतः वढुवा पाएको कारण तल्ला तहमा जनशक्तिको अभाव खडकिएको छ । ती कर्मचारीले सम्पादन गरिरहेको कार्यमा प्रत्यक्ष असर परिरहेको छ । मुख्यतः जनतालाई प्रत्यक्ष सेवा दिने भनेको तल्ला तहका कर्मचारीले नै हो । योतर्फ विशेष ध्यान दिनुहोस ।
(२५) नेपालको अहिलेको अर्थतन्त्रमा विप्रेषणले कूल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको अवस्था छ । हाल मध्यपूर्वमा तेलको भाउमा निरन्तरको गिरावटले कुनै पनि बेला लाखौ नेपाली स्वदेश फर्कन सक्ने अवस्था आउन सक्छ, जसले ठूलो संकट ल्याउन सक्छ । अतः यसबाट पर्नसक्ने प्रभाव र त्यसलाई समाधान गर्न अवलम्वन गर्नुपर्ने उपायहरु सम्बन्धमा तत्काल अध्ययन टोली गठन गरी प्राप्त सुझाव अनुरुप अगाडि बढ्नुहोस ।
(२६) अन्त्यमा तपाइँहरु नेपाल सरकारको जिम्मेवारी र जवाफदेहिता बहन गर्ने उच्चतम् पदाधिकारी हुनुहुन्छ । मैले भनेर मात्र काम गर्ने नभई स्वचालित रुपमा जिम्मेवारीबोधका साथ काम गर्ने गर्नुहोस् । मैले यस अघि पनि पटकपटक निर्देशन दिइसकेको छु । अब मलाई अपेक्षित नतिजा चाहियो । म यसको व्यग्र प्रतिक्षामा छु ।
सम्माननीय प्रधानमन्त्रीज्यूबाट २०७३।०८।०६ गते सचिव बैठकमा भएको निर्देशन
पुष २७, २०८१ आइतबार ०:३५:३९