‘सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिवद्ध छ’

हार्दिक शुभकामना
नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदाय लगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । ग्याल्बो ल्होसार नेपालका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष हो, ऐतिहासिक र प्रेरणादायी दिन हो । विभिन्न मिष्ठान्न भोजनका साथै शेर्पा समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ यो पर्व मनाउने गरिन्छ । यस पर्वमा मान्यजनहरूबाट आशिर्वाद ग्रहण गर्नुका साथै परिवार र आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा रहिआएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक हो । देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति हुन् । तिनीहरूको रक्षा र प्रवद्र्धन गर्नु हामी सबैको साझा जिम्मेवारीसमेत हो । विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवद्र्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिन्छ । सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिवद्ध छ ।
अन्त्यमा ग्याल्बो ल्होसारको ऐतिहासिक दिनले आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबूत गर्नेछ भन्ने विश्वासका साथ शेर्पा समुदाय लगायत सम्पूर्ण जनसमुदायमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।
९ फाल्गुण २०७९
पुष्पकमल दाहाल ‘प्रचण्ड’

असोज ७, २०८१ सोमबार ९:६:४७