सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताउनुभएकाे छ । आइतबार राष्ट्रिय समाचार समिति (रासस)को ६२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नागरिकको विचार अभिव्यक्तिको अधिकारको सम्मान गरिने बताउनुभएकाे छ ।

सरकारको नागरिकको विचार अभिव्यक्ति प्रतिको मान्यतालाई राससजस्ता समाचार प्रदायक संस्थाहरूले पनि सम्मान र विस्तार गनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।

राष्ट्रिय समाचार समिति (रासस) को ६२ औँ वार्षिकोत्सव समारोहमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले गर्नुभएको सम्वोधन:- (७ फाल्गुण २०७९)

समारोहका अध्यक्ष ज्यू,
विशिष्ट अतिथि नेपाल सरकारका माननीय सूचना, सञ्चार तथा प्रविधिमन्त्रीज्यू,
अतिथिज्यूहरू,
राष्ट्रिय समाचार समितिका पदाधिकारी एवं सम्पूर्ण कर्मचारीज्यूहरू,
सञ्चारसम्वद्ध पदाधिकारीज्यूहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित सम्पूर्ण महानुभावहरू।
नेपालको एकमात्र सरकारी सञ्चार सेवा प्रदायक संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६२ औँ वार्षिकोत्सवको सुखद् उपलक्ष्यमा समितिका सम्पूर्ण पदाधिकारीहरू, सञ्चारकर्मीहरू, कर्मचारीज्यूहरू लगायत समितिमा आवद्ध सबै महानुभावहरूमा हार्दिक बधाइका साथ निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।
यस समाचार समितिले आफ्नो स्थापनादेखि नै नेपाली र अंग्रेजी भाषामा स्वदेशी र विदेशी समाचार तथा तस्बिरहरू उपलब्ध गराउँदै आएको छ। साथै हालैमात्र तपाईहरूले नेपालका टेलिभिजन एवं डिजिटल मिडियाहरूका लागि श्रव्य दृश्य (भिडियो) सेवा पनि सुरू गर्नुभएकोमा नेपाल सरकारको तर्फबाट म यहाँहरूमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु ।

आजको युग विज्ञान प्रविधि र त्यसमा पनि मुख्यतः सूचना प्रविधिको युग हो । पछिल्लो २ दशकमा विश्वमा सूचना प्रविधिको विकास यति तीव्रतामा भएको छ कि सिंगो विश्वले यसलाई चौंथो औद्योगिक क्रान्तिका रूपमा संश्लेषण गर्दैछ । सूचना प्रविधिको यसप्रकारको तीव्र र द्रूत विकासले सञ्चार जगतलाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई समेटेको छ । अब सूचना–प्रविधिभन्दा बाहिर त्यस्तो कुनै विषय र मुद्दा छैन, जसले आफ्नो अस्तित्व अलग रूपमा कायम गर्न सकोस् । यसर्थ, २१ औँ शताब्दीको आजको विश्वमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य र अपरिहार्य विषय बनिसकेको छ ।

विश्वमा सूचना र प्रविधिको द्रूत गतिमा भइरहेको विकास र विश्वव्यापी प्रभावको परिप्रेक्ष्यमा हामीले पनि हाम्रा सञ्चारमाध्यमहरूलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्न आवश्यक छ। जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्छ । यही मान्यतालाई आत्मसात् गर्दै नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न राससले पनि आफ्नो सेवालाई थप चुस्तदुरूस्त बनाउन आफ्ना सबै संयन्त्र र क्षमता परिचालन गर्न सकोस् भन्ने मेरो कामना छ । राससले आफ्नो भौतिक विकाससँगै सूचनामा पहुँच बढाई सञ्चारमाध्यमहरूमार्फत् आम नागरिकलाई सूसुचित गर्ने काममा आफूलाई अब्बल रूपमा स्थापित गर्न सक्नुपर्दछ ।

देश र विदेशका सञ्चारमाध्यमहरूलाई स्वदेशी र विदेशी समाचारहरू उपलब्ध गराउँदै आएको राससले देशका बढीभन्दा बढी सञ्चारमाध्यमहरूमार्फत् सूचना सम्प्रेषण गरी नागरिकलाई सूचना प्रदान गर्नुपर्छ । कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु पनि हो । वर्तमान सरकार यही मान्यतामा अडिग छ । सूचना नागरिकको कानुनी अधिकार मात्र नभएर उनीहरूको अवसर एवं ज्ञानको स्रोत पनि हो । त्यसैले कुनै पनि नागरिकलाई सूचनाबाट बञ्चित गर्नु भनेको उनीहरुलाई आफ्ना सम्भावना र अवसरबाट नै बञ्चित गर्नु हो भन्ने मान्यता राखेर रासस लगायतले काम गर्नुपर्छ ।

वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको अधिकारको सम्मान गर्दछ र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ । सरकारको यो मान्यतालाई राससजस्ता समाचार प्रदायक संस्थाहरूले पनि सम्मान र विस्तार गर्नुपर्छ । जहाँ लोकतान्त्रिक शासन प्रणाली छ त्यहाँ मात्र प्रेस स्वतन्त्रता सम्भव छ । यो वास्तविकतालाई ध्यानमा राखी लोकतान्त्रिक प्रणालीको पक्षधरतामा मुलुकको प्रेस उभिँदै आएको छ र उभिनुपर्छ। त्यसैले सरकारको यो मान्यतालाई राससले ध्यानमा राखोस् र नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा अझ प्रभावकारी रुपमा अघि बढ्न सकोस् भनी शुमकामना दिन चाहन्छु । राससले समयानुकूल आफ्ना समाचार सेवाहरूमा विकास गर्दै लैजानु आवश्यक छ । यसका लागि प्रविधि र आफ्नो क्षमताको विकास र विस्तारमा पनि ध्यान दिन जरुरी छ ।

स्वदेशी र विदेशी सञ्चारमाध्यमहरूलाई समेत समाचार सेवा प्रदान गर्दै आएको छ दशकभन्दा पुरानो समाचार संस्था राससले आगामी दिनमा राज्यको एक आधिकारिक सूचना बैंकको रूपमा रहेर काम गर्न सकोस् । समितिको नेतृत्व संस्थामा आवद्ध सबै सञ्चारकर्मी र कर्मचारीहरूले वास्तविक अभिभावकको रूपमा क्रियाशील हुन सकोस्, प्रतिस्पर्धाको युगअनुरूप सबै सञ्चारमाध्यमभन्दा आफूलाई अब्बल प्रमाणित गर्न सकोस्, नागरिकको सूचनाको अधिकारको सम्मान गर्दैै अघि बढ्न सकोस् ।
अन्त्यमा राससको विकास र संस्थागत हितका पक्षमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र अभिभावकत्व रहने प्रतिवद्धता व्यक्त गर्दै तपाईहरूको ६२ औँ वार्षिकोत्सवको भव्यतम सफलताको कामना गर्दछु, धन्यवाद।

असोज ६, २०८१ सोमबार ३:८:१९