सरकार र मधेशी मोर्चा बीचको बैठक सम्पन्न

फाल्गुण ८, काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाका नेताहरु बीचको बैठक बालुवाटारमा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचनको मिति घोषणाका विषयमा केन्द्रित भएर छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्रीले सरकार स्थानीय निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको मोर्चाका नेताहरुलाई जानकारी गराउनु भएको थियो । प्रधानमन्त्री मधेशमा जनसंख्याको घनत्वलाई मध्यनजर गर्दै स्थानीय तहको संख्या बढाउन सरकार लागिरहेको जानकारी दिँदै फागुन १० गतेबाट सुचारु हुने संसदबाट संविधान संशोधन विद्येयक अघि बढाएर निष्कर्षमा लैजाने बताउँदै राजनीतिक गतिरोधका लागि स्थानीय तहको निर्वाचनमा आउन मोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।
मोर्चाका नेताहरुले मोर्चाको मूख्य चासो सीमाङ्कनको हेरफेरसहित संविधान संशोधन भएको बताउँदै संशोधन प्रस्ताव टुंगोमा पुगेपछि मात्रै निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको थियो । आजको बैठकमा संविधान संशोधन प्रस्तावको प्रक्रिया, त्यसमा सरकारले खेल्ने भूमिका, स्थानीय तहको संख्यामा हेरफेर, स्थानीय निर्वाचनको औचित्य र सरकारले गरेको तयारी लगायतका विषयमा खुलेर सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल ‘बलदेव’ले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ७, २०८१ बुधबार १७:३:४१