सरकार र मधेशी मोर्चा बीचको बैठक सम्पन्न

बैशाख ८, काठमाडौं । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गर्नुभएको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको थियो । बैठकमा प्रधानमन्त्रीले सरकारद्घारा प्रस्तुत संविधान संशोधन विद्येयकमा सहमति गरेर बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन मोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।
मोर्चाका नेताहरुले स्थानीय तहको निर्वाचनभन्दा संविधान संशोधनमा मोर्चाको मूख्य चासो भएको भन्दै सरकारद्धारा प्रस्तुत प्रस्तावमा पूनर्विचार गर्न सरकारसँग आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले मोर्चाको प्रस्तावबारे सत्तारुढ दलका नेताहरुसँगको परामर्शपछि पुन बैठक बसेर सहमतिको प्रयास गर्ने बैठक जानकारी गराउनु भएको थियो । संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनमा सहमति जुटाउन दिउँसो ३ बजे सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको बैठक बसेपछि बेलुका ५ बजे सरकार र मोर्चाबीच पुन बैठक हुनेछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ६, २०८१ बुधबार ३:३२:४०