सरकारको सुशासन र समृद्धिको लक्ष्यलाई सफल बनाउन प्रधानमन्त्री प्रचण्डकाे आग्रह

संवैधानिक सर्वोच्चता र कानुनी शासनको मान्यतालाई आत्मसात गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको रक्षा एवं जनताको जिउधनको सुरक्षा गर्ने, सामाजिक सद्भावको विकास र समय परिस्थितिअनुसार नेपाल सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी अनुशासित, नैतिकवान्, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन सशस्त्र प्रहरी बलका सम्पूर्ण अधिकृत र कर्मचारीहरूलाई विशेष निर्देशित गर्दछु।

२२ औं सशस्त्र प्रहरी दिवसमा उपस्थित उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यू,
माननीय सांसदज्यूहरू,
संवैधानिक निकायका प्रमुख तथा सदस्यज्यूहरू,
प्रधानसेनापतिज्यू,
नेपाल सरकारका सचिवज्यूहरू,
Excellencies and representatives from diplomatic missions,
सशस्त्र प्रहरी महानिरीक्षकज्यू,
सुरक्षा निकायका प्रमुखज्यूहरू,
उपस्थित सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू,
सञ्चारकर्मी साथीहरू,
सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू,
उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरू।
सर्वप्रथम २२ औं सशस्त्र प्रहरी दिवसको शुभ अवसरमा मलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गर्नुभएकोमा सशस्त्र प्रहरी महानिरीक्षक एवं सम्पूर्ण सशस्त्र प्रहरी राष्ट्रसेवकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
सशस्त्र प्रहरी बल नेपालले २१ औं वसन्त पार गरी २२ औं वर्षमा प्रवेश गरेको यस पावन अवसरमा स्वदेश तथा विदेशमा कार्यरत समस्त सशस्त्र प्रहरी राष्ट्रसेवकहरूलाई बधाइका साथै यहाँहरूको व्यक्तिगत तथा पेशागत सफलता एवं उत्तरोत्तर प्रगतिका लागि शुभेच्छासहित हार्दिक शुभकामना व्यक्त गर्दछु।
राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशसंनीय छ। मुख्यतः २०६४ सालको निर्वाचनमा नेतृत्वदायी भूमिकाका साथै २०७०, २०७४, २०७९ मा सम्पन्न निर्वाचनहरू शान्तिपूर्ण, निष्पक्ष, भयरहित एवं कुशलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नुभएकोमा बलका सकल दर्जाका सशस्त्र प्रहरी राष्ट्रसेवकहरूप्रति नेपाल सरकारको तर्फबाट आभार प्रकट गर्दछु।
वि.सं. २०७२ सालको विनाशकारी महाभूकम्प लगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपदमा तपाईहरूले आफ्नो ज्यानको प्रवाह नगरी बहादुरीपूर्वक खटिएर जनताको जीवन रक्षाका लागि कर्तव्यनिष्ठ भएर काम गर्नुभएको छ। सीमित साधनस्रोत र चुनौतीका बिच पनि सुरक्षा र विपद् व्यवस्थाका क्षेत्रमा तपाईहरूको क्रियाशीलता र सकारात्मक परिणामको म मुक्तकण्ठले प्रशंसा गर्दछु।
नेपालको सीमा सुरक्षार्थ Dedicated फौजको रूपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता तथा सीमित पूर्वाधारका वावजुद राष्ट्रसेवाको भावनासहित परिचालित हुनुभएका सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। साथै नेपालको सीमा सुरक्षार्थ उत्तर–दक्षिण, पूर्व–पश्चिम सबैतिर परिचालन गर्न, त्यसका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिवद्ध छ।
सशस्त्र प्रहरी बल, नेपालले आफूलाई प्राप्त सबै प्रकारका भूमिकालाई उच्च साहस, इमान्दारीता एवं व्यवसायिकताका साथ सम्पादन गरिरहनुभएको कुरा हामी कसैबाट पनि लुकेको छैन। तपाईहरूले राजस्व संकलनमा पुर्‍याउनुभएको सहयोग र सुरक्षा, महत्वपूर्ण व्यक्ति तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जीउधनको सुरक्षा गर्ने काममा पु¥याउनुभएको महत्वपूर्ण योगदानको उच्च प्रशंसा गर्दछु।
तपाईहरूलाई श्रोत र साधनको अभाव छ भन्ने कुरा हामी सबैलाई जानकारी छ। हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरणहरू र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुनेसमेत विश्वास दिलाउँछु।
संवैधानिक सर्वोच्चता र कानुनी शासनको मान्यतालाई आत्मसात गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको रक्षा एवं जनताको जिउधनको सुरक्षा गर्ने, सामाजिक सद्भावको विकास र समय परिस्थितिअनुसार नेपाल सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी अनुशासित, नैतिकवान्, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन सशस्त्र प्रहरी बलका सम्पूर्ण अधिकृत र कर्मचारीहरूलाई विशेष निर्देशित गर्दछु।
मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शून्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्दै जनताको मन मष्तिस्क जित्ने गरी कार्यक्षेत्रमा खटिँदै देश र जनताको सेवा र सुरक्षा प्रदान गर्ने कार्यमा तपाईंहरूलाई सफलता मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
सूचना–प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्र पारेको छैन, अपराधहरूको चरित्रमा समेत बहुआयमिक फेरबदल आएको छ। तसर्थ, वर्तमान विश्व परिवेशलाई मूल्याङ्कन गर्दै बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्नका लागि आवश्यक रणनिति बनाई सोहीअनुसार परिचालित हुनसमेत आग्रह गर्दछु।
नेपाल सरकारको सुशासन र समृद्धिको दिर्घकालिन लक्ष्यलाई सफल बनाउन तपाईंहरूले आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले गहिरो विश्वास लिएको छु।
आफ्नो कार्यक्षेत्रमा विशिष्ठ योगदान पुर्‍याई ‘लाइफ टाइम एचिभमेन्ट’ बाट सम्मानित हुनुभएका श्री ज्ञानेन्द्रराज राईज्यूलाई हार्दिक बधाइ व्यक्त गर्दै व्यवसायिक र व्यक्तिगत जीवनमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु।
यसैगरी आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक एवं उच्च व्यवसायिकताका साथ निर्वाह गरी उत्कृष्ट बाहिनीपतिका रूपमा सम्मानित हुनुभएका सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काज्यूलाई पनि हार्दिक बधाइ व्यक्त गर्दै व्यवसायिक र व्यक्तिगत जीवनमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु
अन्त्यमा, गरिमामय एवं महत्वपूर्ण सशस्त्र प्रहरी दिवस कार्यक्रममा आमन्त्रण गर्नुहुने सशस्त्र प्रहरी महानिरीक्षक लगायत यस बलका सम्पूर्ण राष्ट्रसेवकहरूलाई हार्दिक धन्यवाद दिँदै अवकास प्राप्त एवं बहालवाला कार्यरत सम्पूर्ण राष्ट्रसेवकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
आजको यस दिनले देश र जनताको सुरक्षार्थ अझ उच्च मनोबलका साथ कर्तव्यपथमा अग्रसर रहन प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गर्दै तपाईंको कार्यकालमा सशस्त्र प्रहरी बल नेपाललाई अझ बढी सशक्त र व्यवसायिक बनाउन नेपाल सरकारको पूर्ण सहयोग र समर्थन रहने प्रतिवद्धताका साथ आफ्नो शुभकामना मन्तव्य टुंगाउँछु, धन्यवाद।

(२२ औं सशस्त्र प्रहरी दिवस – २०७९ का अवसरमा सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यूले व्यक्त गर्नुभएको शुभकामना मन्तव्य- ९ माघ २०७९)

 

असोज ४, २०८१ शुक्रबार ९:४१:४४