सहि निर्णय लिने नेता भएनन् भने ठूलाठूला अवसर पनि गुम्दछन्ः अध्यक्ष प्रचण्ड

इलाम । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीहरु बीचको एकता सहि निर्णय गर्न सक्ने नेतृत्वका कारण भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सहि निर्णय लिने नेता भएनन् भने ठूला अवसर पनि गुम्दछन् ।’ नेकपा इलाम जिल्ला संगठन समितिले आज इलाममा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्षले पार्टी एकता गर्नका लागि निर्णय गर्न सक्ने नेता चाहिने स्पष्ट पार्नुभयो । ‘पार्टी भनेको बिचार हो, बिचार मिल्नेसँग एकता गर्ने हो,’ अध्यक्षले भन्नुभयो ।

दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकताको निर्णय गर्ने नेताहरुको भूमिका पनि ठूलै भएको उहाँको भनाई थियो । ‘एकताले नेपालीहरु मात्र नभएर विश्वभरका श्रमजीविहरुमा आशाको नयाँ दियो बलेको छ, ’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताउनुभयो । उहाँले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागे पनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताउनुभयो । 

उहाँले कार्यकर्तालाई पार्टी एकता नेताले चाहेर मात्र भएको नभई परिस्थिति र असल नेतृत्वका कारण भएको स्पष्ट पार्नुभयो । “पार्टी एकता त्यसै भएको छैन, तपाईंहरूले कम्युनिष्ट इतिहास पढ्नु भयो भने मात्र यसको मर्म बुझ्नु हुन्छ ।” अध्यक्ष प्रचण्डले भन्नुभयो, “हाम्रो यो एकतालाई विश्वले समेत सराहना गरेको छ, दुई फरक ठूला पार्टी एकता हुने कुरा मामुली रूपमा नलिनु होला ।” 

कात्तिक ८, २०८१ शुक्रबार २:५८:३