सामाजिक कार्यक्रम लक्षित वर्गमा केन्द्रित गरौं, ‘प्रधानमन्त्री’

असोज ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रको कार्यक्रम लक्षित वर्गमा केन्द्रित गरेर परिणाममूखी काम गर्नुपर्ने बताउनु भएको छ ।
बिहीबार समाज कल्याण परिषदले आयोजना गरेको सामाजिक सेवा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘सामाजिक सेवाका लागि हजारौं संस्था स्थापना भएका छन् । कैयौं काम पनि भएका छन् । समाज कल्याण परिषद्मार्फत् अरबौंको बजेट पनि परिचालन भएको छ । तर, त्यस्ता संस्था र कार्यक्रमले लक्षित वर्गको उत्थान गर्न सकेका छन् कि छैनन् ? यसको गम्भीर समीक्षा गरेर आगामी योजना तर्जुमा गर्न म विशेष निर्देशित गर्दछु ।’
कार्यक्रममा प्रधानमन्त्रीले थप्नुभयो, ‘हाम्रा एनजिओ, आइएनजिओको कामप्रति जनताका प्रशस्तै गुनासा छन् । गैर–सरकारी संस्थाको मूख्य काम मध्यम वर्गलाई जागिर खुवाउने र सहायक काम तल्लो वर्गलाई माथि उठाउने खालको भयो भन्ने आम धारणालाई बदल्न सक्नुपर्छ । हामीले उपेक्षित, उत्पीडित जनता र क्षेत्रलाई पहिलो प्राथमिकतामा राखौं, टाठाबाठा र पढेलेखेका मान्छेलाई जागिर खुवाउने कामलाई दोस्रो प्राथमिकतामा राखौं ।’
प्रधानमन्त्रीले एनजिओहरुले ठूला शहरमा सेमिनार र गोष्ठी गरेर आफ्नो औपचारिकता पुरा गर्ने गरेको जनगुनासो रहेको भन्दै दुर्गम र बिपन्न नागरिकको वास्तविक उत्थानका लागि काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल, समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बराल लगायतले समाज कल्याण परिषदको प्रगति र भूमिकाका विषयमा बोल्नुभएको थियो । _DSC0711_DSC0725_DSC0720

कात्तिक ७, २०८१ बुधबार १९:१३:४